सार्थक ब्यूरो ।धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतको आगमनसँगै जेनजी अभियानका समर्थक र युवा संघबीच तनाबपूर्ण स्थिति सिर्जना भएको छ । बस्नेत धनगढी आउँदैछ भन्ने सूचना बाहिरिएपछि जेनजी युवाहरुले जेन्जी चोकमा प्लेकार्ड र कालोपट्टीसहित विरोध प्रदर्शन सुरु गरेका थिए ।
नेता बस्नेतलाई विमानस्थलबाट मोटरसाइकलमा स्कर्टिङ गर्दै ल्याइएका युवा संघका कार्यकर्ताले चोकमा नारा लगाइरहेका जेनजी समर्थकतर्फ धक्का–मुक्का गर्दै लखेटेको स्थानीयहरूले बताएका छन् । सो क्रममा जेनजी अभियन्ता सरिता जोशी घाइते भएकी छन् । हातमा चोट लागेको उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बस्नेत एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी हुन धनगढी पुगेका हुन् । उनी आउने जानकारीपछि जेनजी अभियानका युवाले “गुण्डा विरुद्ध कारबाही होस्”, “जेनजीको अभियान रोक्न पाइँदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित सडकमा विरोध प्रदर्शन गरिरहेका थिए ।
संभावित झडपलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली क्षेत्रभरि परिचालन गरिएको थियो । कार्यक्रम कैलाली उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएकाले जेनजी समूहले यही मार्गमा पर्ने जेन्जी चोकमा प्रदर्शन थालेका थिए ।


















Discussion about this post