सार्थक ब्यूरो । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। बैंकले जारी गरेको सूचनाका अनुसार आकार र रङ पहिलेजस्तै भए पनि यस पटकको नोटमा सुरक्षा र पहिचानसँग सम्बन्धित केही नयाँ तत्व थपिएका छन्।
नोटको अगाडिको भागमा बायाँपट्टि सगरमाथाको तस्बिर र दायाँपट्टि लालीगुराँसको पानी छाप देखिन्छ। बीच भागमा नेपालको नक्सासहित अशोक स्तम्भ अंकित गरिएको छ। दृष्टिविहीनहरूलाई नोट पहिचान गर्न सहज होस् भनेर अशोक स्तम्भ नजिकै स्पर्शबाट थाहा पाउन सकिने कालो थोप्ला राखिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, बायाँपट्टि अण्डाकार फ्रेमभित्र सिल्भर मेटालिकमा मायादेवीको आकृति छ। सुरक्षाका लागि २ मिमी चौडाइको विशेष सुरक्षा धागो नोटमा समावेश गरिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिनेछ।
नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ भने तल्लो भागमा ‘वि.सं. २०८१’ अंकित सिरिज नम्बर राखिएको छ।
राष्ट्र बैंकले नयाँ नोटलाई अविलम्ब सामान्य कारोबारमा प्रयोग गर्न सकिने जनाएको छ।


















Discussion about this post