सार्थक ब्यूरो ।नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेताहरू आ–आफ्नो नेतृत्व पंक्ति तयार पार्न सक्रिय भएका छन्। मंसिर २७ देखि सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका दुई प्रमुख दावेदार—वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल—टिम गठनका अन्तिम कसरतमा छन्।
पार्टीमा पदाधिकारीका आकांक्षीहरूको संख्या बढेपछि दुवै पक्षलाई सहमतिपूर्ण सूची बनाउन चुनौती थपिएको छ। अध्यक्ष ओलीले आफ्नै नेतृत्वमा टोली बनाउने विषयमा कार्यकर्तालाई संकेत गरिसकेका छन्। उनी निकट नेताहरूका अनुसार “उम्मेदवारी दर्ता हुँदासम्म सबैलाई समेट्ने खालको संरचना बनाउने प्रयास जारी छ”।
ओली समूहमा उपाध्यक्षका लिएर विष्णु पौडेल, रामबहादुर थापा र गुरु बराल जस्ता नामहरू प्राथमिकतामा परेका छन्। तर महासचिव कसलाई बनाउने भन्नेबारे ओलीले अन्तिम निर्णय गर्न सकेका छैनन्। शंकर पोखरेल पुनः महासचिव बन्न इच्छुक छन् भने प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरिरहेको बताइन्छ। यी तीनमध्ये एकजनालाई उम्मेदवार बनाउने तयारी ओली पक्षमा रहेको बुझिन्छ।
उपमहासचिव पदका लागि विष्णु रिमाल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल प्रतिस्पर्धामा छन्। त्यस्तै सचिव पदमा भीम आचार्यदेखि महेश बस्नेत र राजन भट्टराईसम्म धेरैले चासो देखाएका छन्। यी नेताहरूलाई एकै पंक्तिमा राखेर सन्तुलन कायम गर्नु ओलीका लागि ठूलो चुनौती मानिएको छ, किनकि धेरैले आफ्नो अभिरुचि देखाए पनि धेरैले खुलेर धारणासमेत राखेका छैनन्।
दशौँ महाधिवेशनजस्तो सहज वातावरण नदेखिएपछि ओली समूह आन्तरिक असन्तुष्टि न्यून पार्दै बलियो प्यानल बनाएर निर्वाचनमा जाने रणनीतिमा केन्द्रित देखिन्छ।
उता अध्यक्ष ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रन तयार रहेका ईश्वर पोखरेलले पनि वैकल्पिक टिम निर्माणलाई निरन्तरता दिइरहेका छन्। उनले उपाध्यक्षतामा अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेको बुझिन्छ। महासचिवका लागि योगेश भट्टराई, उपमहासचिवमा गोकर्ण विष्ट तथा सचिवको सूचीमा ठाकुर गैरे र बिन्दा पाण्डे जस्ता नाम समेटिएका छन्।
गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट १५ मा झारेपछि धेरै नेताहरूको आकांक्षा व्यवस्थापन गर्न कठिनाइ बढेको छ। विधानअनुसार अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीमा पदेन सदस्य हुनेछन्।
यसपटक सचिवालय संरचना हटाई १५ सदस्यीय पदाधिकारी नै स्थायी कमिटीको रूपमा रहने निर्णय भएको छ। पोलिटब्युरोको आकार भने केन्द्रीय कमिटीको एक तिहाइ—८४ सदस्य—हुन छ। स्थायी कमिटी नभएकाले प्रभावशाली नेताहरू पोलिटब्युरोमै समेटिने सम्भावना प्रबल रहेको बताइन्छ।
आगामी महाधिवेशनमा यी व्यवस्थाअनुसार नै प्रतिस्पर्धा हुने भएकाले ओली र पोखरेल दुवै समूह आफ्नो–आफ्नो सन्तुलित र जिताउ प्यानल तयार पार्न अन्तिम क्षणसम्म सक्रिय रहने देखिन्छ।


















Discussion about this post