समानुपातिक प्रणालीमा भाग लिन दलहरूलाई निर्वाचन आयोगको सूचना

सार्थक ब्यूरो ।आसन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा सहभागी हुन चाहने राजनीतिक दललाई तोकिएको समयभित्र निवेदन दिन निर्वाचन आयोगले आग्रह गरेको छ। आयोगले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार समानुपातिक तर्फको प्रक्रिया मङ्सिर २१ देखि औपचारिक रूपमा सुरु हुँदैछ।
आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म दलहरूले सहभागिताका लागि निवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। यसका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा आवश्यक संरचना तयार गरिएको छ। समानुपातिक निर्वाचन प्रक्रियाका निर्वाचन अधिकृतका रूपमा सचिव महादेव पन्थ नियुक्त गरिएका छन्।
निवेदन दर्ता भएका दलहरूको नामावली आयोगले मङ्सिर २४ गते सार्वजनिक गर्नेछ। त्यसपछि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची पुस १३ र १४ गते बुझाउने समय तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
योजना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुनेछ, जसको काउन्टडाउन अब ९० दिन मात्र बाँकी छ।
प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया पनि क्रमवार अघि बढ्दैछ। आयोगले तय गरेअनुसार माघ ६ गते प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन दर्ता हुनेछ र सोही दिन प्राथमिक सूची सार्वजनिक गरिनेछ। मनोनयनविरुद्ध उजुरी दर्ता गर्ने समय माघ ७ गते कायम गरिएको छ।
यसैगरी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने माघ ९ गते नाम फिर्ता दिने अन्तिम दिन हुनेछ। नाम फिर्ताको समय सकिएपछि सोही दिन अन्तिम सूची सार्वजनिक गरी उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गरिनेछ।
आयोगले प्रतिनिधिसभासँगै माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनको तयारीसमेत तीव्र बनाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित