सार्थक डेस्क।जाडो बढ्दै जाँदा कञ्चनपुरका आरक्ष विस्थापितहरूको पीडा झनै बढेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित ७४ वर्षीय जयभान भट्ट अहिले भीमदत्त नगरपालिका–४ स्थित जडीबुटीको खाली जमिनमा पाल टाँगेर जीवन गुजारिरहनुभएको छ । जाडो सुरु भएसँगै रातिको समयमा शीत चुहिने र चिसो हावाले शरीर कठ्याङ्ग्रिने गरेको उहाँ बताउनुहुन्छ ।
“रातभर चिसोले सुत्न सकिँदैन,” भट्टले भन्नुभयो, “सरकारले आरक्षको नाममा खोसेको गाँस, बास फिर्ता नगरेसम्म हाम्रो पीडा सकिँदैन ।” उहाँजस्तै दर्जनौँ आरक्षपीडित अहिले पालमुनि चिसोसँग संघर्ष गरिरहेका छन् ।
रौतेली बिछुवाबाट विस्थापित अर्की आरक्षपीडित वासुदेवी दमाईंको कथा झन् पीडादायी छ । वर्षौँदेखि चिसो, भोक र अभावसँग जुध्दै आएकी दमाईंले सरकारले आफूहरूको अवस्थाप्रति कुनै चासो नदेखाएको गुनासो गर्नुभयो । “जेठो छोरा भारत कमाउन गयो, २८ वर्ष भयो बेपत्ता छ,” उहाँले भन्नुभयो, “अँधिया र मजदुरी गरेर ज्यान धान्दै आएकी छु ।” कान्छो छोरा पनि भारतमै रहेकाले दैनिक खर्च चलाउन केही सहज भए पनि चिसोमा पालमुनिको जीवन असह्य बन्दै गएको उहाँको भनाइ छ ।
हिरापुरबाट विस्थापित ४० वर्षीय शेरबहादुर चुनारा वृद्ध आमाबुवासँगै पालमा बस्दै आउनुभएको छ । न्यानो कपडाको अभाव, खानेपानी र शौचालय नहुँदा रात काट्नै मुस्किल भएको उहाँ बताउनुहुन्छ । “चिसोमा न्यानो लुगा छैन, पानी र शौचालयको व्यवस्था पनि छैन,” उहाँले भन्नुभयो, “पालमुनि बाँच्नु नै चुनौती भएको छ ।”
हाल ढक्का, हिरापुरलगायत ११ शिविरका करिब तीन सय परिवार महेन्द्रनगरस्थित जडीबुटीको जमिनमा पाल टाँगेर बसिरहेका छन् । जिल्लाभर झन्डै चार हजार आरक्ष विस्थापित विभिन्न शिविरमा आश्रित छन् । आरक्षपीडितहरूले १० कट्ठा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्ति दिनुपर्ने मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
आरक्षपीडित जिल्ला सङ्घर्ष समितिका अध्यक्ष रति सुनारका अनुसार खानेपानी, खाद्यान्न, लत्ताकपडा र शौचालयको व्यवस्था गरिदिन नगरपालिकाका जनप्रतिनिधिलाई पटक–पटक आग्रह गरिए पनि बेवास्ता गरिएको छ । यद्यपि भगतपुरका स्थानीयले दुई वटा खानेपानीको धारा उपलब्ध गराएर सहयोग गरेका छन् । “खानका लागि पानी त जुटेको छ,” सुनारले भन्नुभयो, “तर नुहाउन र कपडा धुन अझै खोला–नदी धाउनुपर्छ ।”
उता, भीमदत्त नगरपालिकाले भने अन्य पालिकाबाट आएर बसेका आरक्षपीडितको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने जनाएको छ । भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशीलकुमार भट्टका अनुसार सम्बन्धित पालिकाले नै राहतको व्यवस्था गर्नुपर्ने हुन्छ । “सुरुमा केही चामल दिने कुरा थियो,” उहाँले भन्नुभयो, “लामो समय यहीं बसिन्छ भन्ने थाहा थिएन ।”
गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने आरक्षपीडितलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभएको छ । तर चिसो बढ्दै जाँदा पालमुनिको जीवन बिताइरहेका आरक्ष विस्थापितका लागि राहत कहिले र कति पुग्छ भन्ने प्रश्न अझै अनुत्तरित छ ।


















Discussion about this post