कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यसमिति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

सार्थक ब्यूरो ।कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समिति निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको छ । आगामी पुस १९ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले मंगलबार बिहान संघको मतदाता नामावली सार्वजनिक गरेको हो ।
संघको कार्यालयमै निर्वाचन सचिवालय स्थापना गरिएको छ । निर्वाचन समितिको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णबहादुर चन्दले प्रमुख निर्वाचन अधिकृतका रूपमा गरिरहेका छन् । समितिमा चन्दसहित तीन जना सदस्य रहेका छन् ।
संघका कार्यकारी अधिकृत हेमराज भट्टका अनुसार निर्वाचन समितिले निर्धारित कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन गरेको हो । निर्वाचन कार्यक्रमअनुसार पुस १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिने छ । निर्वाचन मिति घोषणा भएसँगै पदाधिकारी र सदस्य पदका आकांक्षीहरूले आन्तरिक तयारी तथा छलफल सुरु गरिसकेका छन् ।
संघको नेतृत्वका लागि हालसम्म आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्ष पिताम्बर जोशीले पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । उनका अतिरिक्त वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, पूर्व अध्यक्ष गणेशदत्त जोशी, पूर्व महासचिव तथा उद्योग उपाध्यक्ष हेमराज जोशी, पूर्व महासचिव दिपेन्द्रप्रकाश साउँद र पूर्व उपाध्यक्ष माधवप्रसाद जोशी अध्यक्ष पदका सम्भावित दाबेदारका रूपमा देखिएका छन् ।
यसअघि सम्पन्न १८औँ कार्यसमिति निर्वाचनमा वर्तमान अध्यक्ष जोशी र पूर्व अध्यक्ष जोशीको प्यानलबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा कार्यसमितिका सदस्यहरू भने निर्विरोध निर्वाचित भएका थिए । हालको कार्यसमितिका केही सदस्यहरू यसपटक पदाधिकारी पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि वाणिज्य उपाध्यक्ष धर्मसिंह रावलले आकांक्षा देखाएका छन् । सचिव राहुल भट्ट महासचिव पदका लागि चुनावी मैदानमा उत्रने तयारीमा छन् भने उद्योग उपाध्यक्ष सुरेश गुरुङले पुनः उम्मेदवारी दिने संकेत गरेका छन् ।
पूर्व कोषाध्यक्ष निर्मला भट्ट सापकोटा पनि महासचिव पदकी आकांक्षी हुन् । सचिव पदका लागि कार्यसमिति सदस्य एनपी जोशी र यज्ञराज भट्ट आकांक्षी छन् । दुवैले आन्तरिक रूपमा प्रचार–प्रसार सुरु गरिसकेको बताइएको छ ।
कोषाध्यक्ष पदका लागि पूर्व कार्यसमिति सदस्य सिद्धराज भट्टले उम्मेदवारी दिने तयारी गरेका छन् । सोही पदमा वर्तमान कार्यसमिति सदस्य प्रदीप पाल र मनोज भट्ट पनि आकांक्षी छन् ।
संघका कार्यकारी अधिकृत भट्टका अनुसार नयाँ कार्यसमितिका लागि अध्यक्षसहित १६ पदमा निर्वाचन हुनेछ । तीमध्ये अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उद्योग उपाध्यक्ष एक, वाणिज्य उपाध्यक्ष एक, महासचिव एक, सचिव एक, कोषाध्यक्ष एक, कार्यसमिति सदस्य सात र संस्थागत सदस्य एक पद रहेका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार पुस ८ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन गरिएको हो भने निर्वाचन सचिवालय संघकै कार्यालयमा सञ्चालनमा छ ।
संघमा हाल निर्माण व्यवसायी संघ कञ्चनपुर, नेपाल औषधि व्यवसायी संघ, होटल व्यवसायी संघ कञ्चनपुर, हार्डवेयर तथा निर्माण व्यवसायी संघ तथा नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कञ्चनपुर गरी पाँच वटा संस्थागत सदस्य रहेका छन् । यसअघि संघमा तीन वटा मात्रै संस्थागत सदस्य थिए ।
संघमा कुल दुई हजार १२१ मतदाता रहेका छन् । तीमध्ये ८९६ जना उद्योगतर्फका सदस्य छन् भने बाँकी वाणिज्यतर्फका रहेका छन् । यो संख्या अघिल्लो १७औँ कार्यसमिति निर्वाचनको तुलनामा कम रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित