सार्थक ब्यूरो ।चार वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन गरी राप्रपा नेपाल गठन गरेका कमल थापाको पुनः राप्रपामा आगमन केवल संगठनात्मक एकताको घटना मात्र होइन, नेपाली दक्षिणपन्थी राजनीतिमा देखिएको शक्ति सन्तुलन र राजनीतिक यथार्थको स्वीकारोक्ति पनि हो। कागजी रूपमा दुई पार्टीबीच एकता भए पनि व्यवहारमा यो कमल थापा र उनको समूहको ‘पुरानै घर’ फर्किने प्रक्रिया हो।
२०७८ सालको महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि कमल थापाले पार्टी छाड्नु र राप्रपा नेपाल पुनर्जीवित गर्नु राजनीतिक असन्तुष्टि र व्यक्तिगत महत्वाकांक्षाको परिणाम थियो। त्यतिबेला उनले आफूलाई राजसंस्थाको समर्थनले हराइएको आरोप लगाउँदै राजावादी एजेन्डाबाट समेत दूरी बनाएका थिए। तर, समयसँगै त्यो निर्णयले अपेक्षित राजनीतिक लाभ नदिएको स्पष्ट हुँदै गयो।
राप्रपा नेपाल गठनपछि थापाले आफू अनुकूल राजनीतिक स्पेस सिर्जना गर्ने प्रयास गरे पनि पार्टीले जनस्तरमा उल्लेख्य प्रभाव जमाउन सकेन। संगठन कमजोर रह्यो, चुनावी परिणाम निराशाजनक बने। स्वयं कमल थापा एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदा पनि पराजय बेहोर्नु राजनीतिक अस्तित्व संकटको स्पष्ट संकेत थियो।
यही संकटले थापालाई पुनः राप्रपातर्फ फर्किन बाध्य बनाएको विश्लेषकहरू बताउँछन्। वैचारिक स्पष्टताभन्दा पनि राजनीतिक जीवित रहने प्रश्न नै यो एकताको प्रमुख आधार बनेको देखिन्छ।
यो एकताबाट राप्रपाभित्र राजेन्द्र लिङदेनको नेतृत्व थप सुदृढ भएको सन्देश पनि गएको छ। विभाजनपछि अलग्गिएका प्रमुख नेता नै पुनः फर्किनु लिङदेनको राजनीतिक हैसियत र संगठनभित्रको पकड बलियो भएको संकेत हो। कमल थापालाई पूर्वअध्यक्षको हैसियतमा सीमित राखिनु र कुनै पदीय बार्गेनिङ नहुनु पनि यही शक्ति सन्तुलनको परिणाम हो।
राप्रपाको विधानअनुसार पूर्वअध्यक्ष पदेन सदस्य हुने व्यवस्था भए पनि निर्णयकारी भूमिकामा भने लिङदेन नेतृत्वकै प्रभाव रहनेछ। यसले पार्टीभित्र भविष्यमा नेतृत्व द्वन्द्वको सम्भावना कम गर्ने अपेक्षा गरिएको छ।
राजावादी आन्दोलनले खोलेको एकताको ढोका
यस वर्ष संयुक्त जनआन्दोलन समितिको ब्यानरमा भएको राजावादी आन्दोलनले कमल थापा र राजेन्द्र लिङदेनलाई नजिक ल्याएको निर्णायक मोड सावित भयो। लामो समयदेखि टुटफुटले कमजोर बनेको राजावादी र दक्षिणपन्थी धारलाई एकीकृत गर्नुपर्ने दबाब आन्दोलनकै क्रममा महसुस भएको देखिन्छ। यही पृष्ठभूमिमा एकताको वातावरण बनेको हो।
राप्रपाले अब आगामी जेठ १८ भित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक दायित्व बोकेको छ। अध्यक्ष लिङदेन पुनः नेतृत्व दोहोर्याउने तयारीमा छन्। कमल थापाको आगमनले संगठन विस्तार र पुराना कार्यकर्ताको मनोबल उकास्ने अपेक्षा गरिएको भए पनि पार्टीलाई चुनावी रूपमा बलियो बनाउने चुनौती भने यथावत् छ।
मुख्य प्रश्न अब यो हो—के यो एकताले राप्रपाको वैचारिक स्पष्टता र संगठनात्मक मजबुती बढाउनेछ, कि केवल कमजोर बन्दै गएको राजनीतिक धारलाई जोगाउने अस्थायी उपाय मात्र बन्नेछ? दक्षिणपन्थी राजनीतिमा प्रभावशाली वैकल्पिक शक्ति बन्न राप्रपाले एकताभन्दा धेरै गहिरो राजनीतिक रणनीति र जनसम्बन्ध विस्तार आवश्यक छ।
कमल थापाको घरफिर्तीले राप्रपाभित्र पुराना घाउ निको पार्ने कि नयाँ चुनौती जन्माउने भन्ने कुरा भने अब पार्टीको आगामी महाधिवेशन र व्यवहारिक राजनीतिले नै तय गर्नेछ।


















Discussion about this post