सार्थक ब्यूरो ।कञ्चनपुर जिल्लाका पाँच वटा स्थानीय तहमा सञ्चालनमा रहेको ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा सकारात्मक परिणाम देखाउन थालेको छ। बाढी र अत्यधिक गर्मी (तातो हावा) जस्ता प्राकृतिक जोखिमको सामना गरिरहेका समुदायलाई लक्षित गरी कार्यक्रम अघि बढाइएको हो।
कार्यक्रम लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र भीमदत्त नगरपालिकाका जोखिमयुक्त बस्तीहरूमा कार्यान्वयन भइरहेको छ। विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली सुदृढीकरण तथा विपद्पछिको जीवन पुनःस्थापनालाई मुख्य उद्देश्य बनाएर कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अधिकृत दिलबहादुर ढाँटले जानकारी दिनुभयो।
ढाँटका अनुसार कार्यक्रमले आर्थिक, प्राकृतिक, भौतिक, सामाजिक र मानवीय गरी पाँचवटै पुँजीलाई आधार मानी समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने रणनीति अपनाएको छ। यसमार्फत समुदायलाई दीर्घकालीन रूपमा विपद् सामना गर्न सक्षम बनाउने लक्ष्य लिइएको छ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगर क्षेत्रमा कार्यक्रमले केही हदसम्म सकारात्मक प्रभाव पारेको बताउनुभयो। “विपद् व्यवस्थापन, जैविक तटबन्ध निर्माण र लक्षित समुदायको आयआर्जनमा कार्यक्रमले सहयोग पुर्याएको छ,” उहाँले भन्नुभयो। जोखिमयुक्त क्षेत्रका बासिन्दाका लागि यो कार्यक्रम उपयोगी सावित भएको भन्दै उहाँले सबै वडामा अझ प्रभावकारी ढङ्गले विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका प्राविधिक जनक लेखकका अनुसार उत्थानशील प्रणालीका चार आधारभूत विशेषता—शीघ्रता, स्रोतसाधन सम्पन्नता, मजबुती र अतिरिक्त क्षमतामा आधारित भई कार्यक्रम अघि बढाइएको छ। यसअन्तर्गत बाढीका ५२ र तातो हावाका ५० वटा सूचक प्रयोग गरी जोखिम मूल्याङ्कन तथा प्रतिकार्य योजना तयार गरेर कार्यान्वयन गरिएको उहाँले बताउनुभयो।
सन् २०२५ मा कुल २८ लाख ९५ हजार ४९ रुपैयाँ लागतमा विभिन्न महत्वपूर्ण गतिविधि सम्पन्न गरिएको कार्यक्रमले जनाएको छ। यस अवधिमा ४६५ मिटर जैविक तटबन्ध निर्माणका लागि १६ लाख ५३ हजार रुपैयाँ र सुरक्षित आवासस्थल मर्मतमा तीन लाख ९७ हजार रुपैयाँ खर्च गरिएको छ।
यसका अतिरिक्त सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि, प्राथमिक उपचार तथा खोज–उद्धार तालिम, साथै बगरखेतीमार्फत आयआर्जनमा सहयोग पुर्याइएको छ। कार्यक्रमबाट ३०० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएको जनाइएको छ।
कार्यक्रमले वडास्तरमा आपत्कालीन सामग्री सहयोग गर्नुका साथै विद्यालयमा जलवायु सचेतना कार्यक्रम सञ्चालन र पूर्वसूचनाका लागि जल तथा मौसम विज्ञान स्टेशनसँगको सहकार्यलाई पनि प्राथमिकतामा राखेको छ। आगामी वर्षहरूमा विपद् बिमा, जोखिम स्थानान्तरण र प्रकृतिमा आधारित समाधानका गतिविधि थप विस्तार गर्ने लक्ष्य कार्यक्रमले लिएको छ।


















Discussion about this post