शुक्लाफाँटा बाघका लागि सुरक्षित र अनुकूल बासस्थान बन्दै

सार्थक ब्यूरो ।सुदूरपश्चिमको कञ्चनपुरमा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलको हिसाबले सानो भए पनि बाघका लागि अत्यन्तै अनुकूल बासस्थानका रूपमा विकसित हुँदै गएको छ। पछिल्ला वर्षहरूमा बाघको संख्या बढ्दै गएको अनुमानसँगै निकुञ्जमा यकिन तथ्याङ्क पत्ता लगाउन बाघ गणनाको तयारी थालिएको छ।
नेपाल सरकारले देशभर बाघको संख्या अद्यावधिक गर्न निकुञ्जहरूलाई तीन वटा क्लस्टरमा विभाजन गरी गणना प्रक्रिया अघि बढाएको छ। शुक्लाफाँटा तेस्रो क्लस्टरमा समावेश छ। हाल चितवन–पर्सा तथा बाँके–बर्दिया क्षेत्रमा बाघ गणनाको काम जारी रहेकाले ती निकुञ्जको काम सकिएपछि मात्रै प्राविधिक टोली शुक्लाफाँटा पुग्नेछ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीका अनुसार अन्य निकुञ्जमा गणना सम्पन्न भएपछि करिब दुई महिनाभित्र शुक्लाफाँटामा पनि बाघ गणना सुरु गरिनेछ। “हामी सबै तयारी अवस्थामा छौँ, टोली आउनासाथ क्यामेरा ट्र्यापिङ सुरु हुन्छ,” उहाँले बताउनुभयो।
सन् २०२२ मा सम्पन्न राष्ट्रिय बाघ गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्य सार्वजनिक भएको थियो। तर निकुञ्जको पछिल्लो आन्तरिक अनुगमनले बाघको संख्या थप बढेको संकेत दिएको छ। निकुञ्ज कार्यालयको आन्तरिक विवरणअनुसार हाल यहाँ बाघको संख्या ४३ पुगेको अनुमान गरिएको छ।
गत वर्षको अनुगमनका क्रममा ४४ वटा बाघ क्यामेरामा कैद भए पनि यस वर्ष एक बाघ कम देखिएको निकुञ्जले जनाएको छ। सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार बाघ कहिलेकाहीँ क्यामेरामा नपर्न सक्ने र प्राकृतिक कारणले मृत्यु हुने सम्भावना पनि रहन्छ। यस वर्ष दुई वटा बाघ प्राकृतिक रूपमा मरेका छन्।
“३०५ वर्ग किलोमिटर क्षेत्रफल भएको निकुञ्जमा ४३ वटा बाघ हुनु आफैँमा उल्लेखनीय उपलब्धि हो,” वाग्लेले भन्नुभयो। उहाँका अनुसार पर्याप्त आहार उपलब्ध भएकाले सानो क्षेत्रफलमै धेरै बाघ अटाउन सफल भएका हुन्।
शुक्लाफाँटामा बाघको मुख्य आहारा मानिने मृग प्रजातिका जनावर प्रशस्त पाइन्छन्। तथ्याङ्कअनुसार यहाँ प्रतिवर्ग किलोमिटर १४६ वटा आहारा प्रजाति छन्, जुन देशकै सबैभन्दा बढी हो। जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना जस्ता जनावरको बाहुल्यताका कारण बाघले सजिलै सिकार पाउँछन्।
बाघले सामान्यतया हप्तामा एक पटक सिकार गर्ने र करिब ५० किलो मासु आवश्यक पर्ने भएकाले आहाराको सहज उपलब्धताले उनीहरूलाई निकुञ्जभित्रै सीमित राख्न सहयोग पुगेको छ। यसले मानव बस्तीमा बाघ जाने समस्या पनि न्यून रहेको वाग्लेले बताए।
वन्यजन्तु विज्ञहरूका अनुसार भाले बाघलाई ५० देखि ६० वर्ग किलोमिटर र पोथी बाघलाई २० देखि ३० वर्ग किलोमिटर क्षेत्र आवश्यक पर्छ। शुक्लाफाँटाको सीमित भूगोलमा बाघको संख्या बढ्दै जाँदा क्षेत्राधिकारका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि घना वन, पर्याप्त पानीका स्रोत र आहाराको कारण बाघहरू अपेक्षाकृत मिलेरै बसेको निकुञ्जको भनाइ छ।
यसपटकको बाघ गणनामा पनि अत्याधुनिक अटोमेटिक क्यामेरा प्रयोग गरिनेछ। बाघ हिँडडुल गर्ने बाटो, पानी खाने स्थान र आवतजावत बढी हुने क्षेत्रमा क्यामेरा जडान गरेर तस्बिर तथा गतिविधि कैद गरिनेछ। बाघ गणनाका लागि निकुञ्जका दुई जना कर्मचारी हाल चितवनमा तालिम तथा अनुभव हासिल गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित