सार्थक ब्यूरो ।कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएका छन्। बुधबार साँझ भीमदत्त नगरपालिका–५ बनगाउँ साइपन नहर नजिक विपरीत दिशाबाट आएको नम्बर नखुलेको ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार दुर्घटनामा भीमदत्त नगरपालिका–५ का २१ वर्षीय राहुल तिरुवा र १७ वर्षीया बिपना जोशी गम्भीर घाइते भएका हुन्। उनीहरू सवार सु.प.प्र.०२–००४–प ६५८९ नम्बरको स्कुटरलाई ट्याक्टरले ठक्कर दिएको बताइएको छ।
दुर्घटनापछि घाइते दुवैजनालाई महाकाली प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि कैलालीको धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको छ। प्रहरीका अनुसार उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ र हाल आइसियुमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा उक्त सडक खण्ड भएर गुज्रिएका एक दर्जनभन्दा बढी ट्याक्टर चालकसँग सोधपुछ गरिएको भए पनि हालसम्म ट्याक्टर र चालकको पहिचान हुन नसकेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


















Discussion about this post