सार्थक ब्यूरो ।रोजगारीको खोजीमा सुदूरपश्चिम प्रदेशबाट भारतको पिथौरागढ पुगेका नेपाली महिला र बालबालिका मानव तस्करी, यौन शोषण र हिंसाको जोखिममा पर्ने गरेको तथ्य बाहिर आएको छ। पछिल्ला वर्षहरूमा यस्ता घटनामा परेका ७५ जना नेपाली महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
पछिल्लो समय सुदूरपश्चिमका विभिन्न जिल्लाबाट महिला र बालबालिकासहित भारत जाने क्रम बढ्दै गएको छ। विद्यालय जाने उमेरका बालबालिकासमेत आम्दानीको आशामा पिथौरागढ पुग्ने गरेको पाइएको छ। बैतडीको पुर्चौडी नगरपालिकाबाट रोजगारी खोज्दै पिथौरागढ पुगेका एक दम्पतीको दुर्घटनामा मृत्यु भएपछि उनीहरूसँग रहेका १३ र १५ वर्षका दुई बालिका मानव तस्करको फन्दामा परेर बेचबिखन तथा यौन हिंसाको सिकार भएको घटना पनि सार्वजनिक भएको छ।
मानव तस्करी र शोषणमा परेका ७५ महिला तथा बालबालिकालाई पिथौरागढस्थित कार्ड संस्थाले उद्धार गरेपछि यस्ता घटनाको यथार्थ खुलेको संस्थाका सचिव सुरेन्द्र आर्यले जानकारी दिनुभयो। उहाँका अनुसार भारत सरकारको सहयोगमा सञ्चालित ‘उज्वला’ कार्यक्रमअन्तर्गत सन् २०१६ देखि २०२४ सम्म उद्धार, संरक्षण तथा कानुनी प्रक्रियामा सहयोग गरिएको हो। कार्यक्रम बन्द भएपछि संस्थाको संरक्षणमा रहेका पीडितलाई सुरक्षित रूपमा नेपाल फर्काइएको उहाँले बताउनुभयो।
मानव तस्करीमा परेका २७ जना नेपाली बालबालिकालाई उज्वला पुनर्वास केन्द्र पिथौरागढमा राखिएको थियो। ती बालबालिका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका रहेका छन्। बालकल्याण समितिको समन्वयमा केन्द्रमा ल्याइएका बालबालिकामध्ये १७ जनालाई बालश्रममा लगाइएको र १० जना बालिकामाथि यौन शोषण भएको पाइएको आर्यले जानकारी दिनुभयो।
गरिबी, रोजगारीको अभाव र अभिभावकविहीन अवस्थाका कारण बालबालिका मानव तस्करको जालमा परेर भारत पुग्ने गरेको पाइएको छ। १० देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई श्रम, बेचबिखन र यौन शोषणमा लगाएको आरोपमा केही भारतीय नागरिकविरुद्ध अदालतमा मुद्दा दर्ता भएको कानुनी सहजकर्ता तनुजा पोखरियालले बताउनुभयो। मुद्दा टुंगो नलाग्दासम्म संस्थाले बालबालिकाको खानपान, बसोबास र शिक्षाको व्यवस्था मिलाएको थियो।
तर बजेट अभावका कारण मुद्दा किनारा नलाग्दै पीडित बालबालिकालाई नेपाल फर्काउनुपरेको उज्वला पुनर्वास केन्द्रले जनाएको छ। दार्चुला नाका हुँदै पिथौरागढ पुर्याइएकी कञ्चनपुरकी एक महिलालाई संस्थाले दुई वर्ष संरक्षण दिएर मुद्दा टुंगिएपछि नेपाल पठाएको पनि जानकारी दिइएको छ। यस्ता बालबालिकालाई सुरक्षित रूपमा नेपाल फर्काउने विषयमा भारतीय बालकल्याण समितिको सहजीकरणमा नेपाली अधिकारीसँग छलफल भइरहेको संस्थाले जनाएको छ।
यसैबीच, मौसमी रोजगारीका लागि भारत जाने नेपाली महिला र बालबालिकाको अवस्थाबारे नेपाल–भारत सुरक्षा संयन्त्रको बैठकमा छलफल गर्ने तयारी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो।
सरकारसँग छैन यकिन तथ्याङ्क
भारत रोजगारीका लागि जाने परिवारबारे स्थानीय तहसँग यकिन तथ्याङ्क नरहेको पाइएको छ। गाउँमा रोजगारीको अवसर नहुँदा भारत नगई जीविकोपार्जन कठिन हुने अवस्था रहेको सिगास गाउँपालिका–१ का लालमनि विकले बताउनुभयो। बैतडीका पुर्चौडी नगरपालिका, सुर्नया, सिगास र डिलासैनी गाउँपालिकाबाट भारतमा ज्यालामजदुरी गर्न जानेको सङ्ख्या बढी छ। त्यस्तै पाटन, मेलौली नगरपालिका तथा शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकाबाट पनि भारत जानेको सङ्ख्या उल्लेख्य रहेको जनाइएको छ।


















Discussion about this post