स्थानीय आवरणमा विदेशी एजेन्डा : नयाँ पात्र,पुरानै विदेशी दलाली

सार्थक डेस्क।नेपालको पछिल्लो राजनीतिक दृश्य हेर्दा एउटा खतरनाक प्रवृत्ति झन् प्रस्ट हुँदै गएको छ,स्थानीय नेतृत्वको आवरणमा विदेशी शक्तिकेन्द्रको एजेन्डा अघि सार्ने खेल। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच एकताको लागि हस्ताक्षर हुने भनिएको खबर यही प्रवृत्तिको नयाँ कडी हो।
यो कुनै सामान्य राजनीतिक सहकार्य होइन, बरु स्थानीय लोकप्रियता प्रयोग गरेर राष्ट्रिय सत्ता संरचनामा हस्तक्षेप गर्ने, र त्यसको आडमा पश्चिमा र भारतीय शक्ति–केन्द्रका स्वार्थ सुरक्षित गर्ने प्रयासका रूपमा यसलाई हेर्नुपर्ने अवस्था आएको छ।
स्थानीय सरकार कि विदेशी भेटघाटको ट्रान्जिट प्वाइन्ट ? संविधानले स्थानीय सरकारलाई दिएको म्यान्डेट स्पष्ट छ,स्थानीय विकास, सेवा प्रवाह र सुशासन। तर काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पछिल्लो समय आफ्नै पालिकाभन्दा बाहिरका गतिविधिमा बढी सक्रिय देखिन्छन्। जेन–जी मन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वसांसद, मिडिया पात्र र कथित ‘सिभिल सोसाइटी’का प्रतिनिधिसम्मको भीड काठमाडौँ महानगरमा होइन, एक व्यक्तिको राजनीतिक लबी केन्द्रमा जम्मा भइरहेको छ।
प्रश्न स्वाभाविक छ,के यी भेटघाटहरू संयोग हुन ?कि नेपालमा प्रयोग हुने नयाँ ‘फेस’ तयार पार्ने विदेशी रणनीतिको हिस्सा ?नेपालको इतिहास हेर्दा, पश्चिमा एनजीओ नेटवर्क र भारतीय कूटनीतिक चासो सधैँ नयाँ पात्र खोज्ने र पुराना संस्थालाई कमजोर बनाउने रणनीतिमा सक्रिय रहँदै आएको छ। आज त्यो प्रयोग चुनावी वैधता बोकेको स्थानीय नेतृत्वमार्फत भइरहेको देखिन्छ।
‘वैकल्पिक राजनीति’ कि नियन्त्रित प्रयोग ?बालेन, रवि लामिछाने र कुलमान घिसिङलाई ‘वैकल्पिक’ भनिन्छ। तर विकल्पको परिभाषा के हो?यदि विकल्प भनेको,राष्ट्रिय संस्थालाई कमजोर बनाउने,जनभावनालाई सामाजिक सञ्जालमार्फत उत्तेजित गर्ने,र विदेशी शक्तिलाई ‘रिफर्म’को नाममा प्रवेश गराउने हो भनेत्यस्तो विकल्प लोकतन्त्रका लागि होइन, अस्थिरताका लागि खतरनाक हुन्छ।
ऊर्जा, सञ्चार, शहरी शासन र मिडिया,यी सबै क्षेत्र विदेशी चासोका संवेदनशील क्षेत्र हुन्। संयोगवश यही क्षेत्रसँग जोडिएका पात्रहरू आज ‘एकता’को नाममा अगाडि सारिँदै छन्। यो संयोग होइन, रणनीतिक मिलान हो।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेनसँग भेट नगर्ने घोषणा गर्नु केवल व्यक्तिगत रिसइवी होइन। यो वैकल्पिक भनिने राजनीतिभित्रकै असन्तोष र अविश्वासको विस्फोट हो।
साम्पाङले प्रयोग गरेका शब्द,‘विदेशी दलाल’, ‘जेन–जीको दुरुपयोग’, ‘गेमर’,यी भावनात्मक मात्र होइनन्, राजनीतिक संकेत हुन्। युक्रेनको उदाहरण उल्लेख गर्नु अतिरञ्जित लाग्न सक्छ, तर सन्देश गम्भीर छ,विदेशी हस्तक्षेप सुरुमा ‘रिफर्म’ र ‘नयाँ नेतृत्व’को नाममा आउँछ, अन्त्यमा राज्य नै प्रयोगशाला बन्छ।
आजको राजनीतिक आन्दोलन सडकभन्दा बढी सामाजिक सञ्जालमा निर्माण हुन्छ। जेन–जीको असन्तोष वास्तविक हो, तर त्यो असन्तोष कसको एजेन्डामा प्रयोग हुँदैछ भन्ने प्रश्न झन् गम्भीर छ। मिडिया ट्रायल, ट्रेन्डिङ अभियान र ‘हिरो–भिलेन’ निर्माण—यी सबै पश्चिमा राजनीतिक मनोविज्ञानका परिचित उपकरण हुन्, जसको अभ्यास नेपालमा तीव्र गतिमा भइरहेको छ।
नेपाललाई समस्या नयाँ नेतृत्वको अभाव होइन, स्वतन्त्र निर्णय क्षमताको अभाव हो। बालेन, रवि लामिछाने र कुलमान घिसिङ नयाँ अनुहार हुन सक्छन्, तर उनीहरूको वरिपरि देखिएको घेराबन्दी पुरानै छ,एनजीओ, कूटनीतिक चासो, मिडिया लबी र छिमेकी शक्तिको दबाब।
यदि स्थानीय नेतृत्व नै विदेशी एजेन्डाको वहाक बन्ने हो भने, त्यसले संघीय लोकतन्त्र मात्र होइन, राष्ट्रिय स्वाधीनतामाथि नै गम्भीर प्रश्न उठाउँछ। आज देखिएको यो ‘एकता’ आशाको संकेत होइन, बरु नेपाल फेरि एकपटक प्रयोगस्थल बन्दै गएको खतराको चेतावनी हो।
अब विकल्प स्पष्ट छ,या त राष्ट्रले संस्थागत लोकतन्त्र र आत्मनिर्भर नीतिको बाटो रोज्छ,या फेरि ‘नयाँ’ भनिएका पात्रमार्फत पश्चिमा र भारतीय दलालहरूको पुरानै खेल दोहोरिन दिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित