मायाजाल, प्रलोभन र बेचबिखन : जोखिममा किशोरी र महिलाहरू

सार्थक ब्यूरो ।सामान्य एउटा फोन डायलबाट सुरु भएको सम्बन्धले कञ्चनपुरकी एक १५ वर्षीया किशोरीलाई गम्भीर जोखिमतर्फ धकेल्यो। भदौ १३ गते दिउँसो विवाहित दिदीलाई फोन गर्न खोज्दा नम्बरको अन्तिम अंक फरक परेपछि फोन एक अपरिचित पुरुषसम्म पुग्यो। फोन उठे पनि किशोरीले तुरुन्तै काटिन्। तर त्यसपछि ती पुरुषले निरन्तर फोन गर्न थाले र कुराकानी क्रमशः बढ्दै गयो।
माइती नेपाल आवधिक गृह, कञ्चनपुरका अनुसार ती पुरुष बाजुराका ३२ वर्षीय केशव बोहोरा थिए। फोन संवादका क्रममा किशोरीले पारिवारिक पीडा, आमाको निधनपछि दोस्रो आमासँग बस्नुपरेको अवस्था र घरभित्रको तनावबारे सुनाउने गरेकी थिइन्। यही संवेदनशील अवस्थाको फाइदा उठाउँदै बोहोराले भेट्ने प्रस्ताव राखे र यात्रा खर्च भन्दै किशोरीको ई–सेवा खातामा रकमसमेत पठाए।
सुरुमा बाजुराको मार्तडीमा भेट्ने भनिए पनि पछि अत्तरिया आउन आग्रह गरियो। भदौ २१ गते किशोरी अत्तरिया पुगिन्। त्यहाँ भेटपछि उनलाई भारत लैजान दबाब र प्रलोभन दिइयो। किशोरी घर फर्किन चाहँदा पनि विभिन्न आश्वासन र डर देखाएर भारत जान तयार पार्ने प्रयास भएको माइती नेपालले जनाएको छ।
तर गड्डाचौकी नाकामा माइती नेपालले सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रले शंका लागेपछि सोधपुछ गर्दा ती पुरुष किशोरीसहित पक्राउ परे। घटनापछि बोहोरामाथि जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। किशोरीलाई सुरक्षित रूपमा उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
यस्तै, माइती नेपालले भदौ १ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ पिपरैयास्थित एक गोठमा लुकाइएकी १४ वर्षीया किशोरीको पनि उद्धार गरेको थियो। डडेलधुराको जोगबुडा घर भएका २३ वर्षीय अनिल सुनाहाले साली नाता पर्ने किशोरीलाई माया जालमा पारेर महेन्द्रनगर घुमाउने बहानामा ल्याएका थिए। किशोरी हराएपछि खोजतलासका क्रममा उनी लुकाइएको अवस्थामा फेला परेकी हुन्। यस घटनामा पनि अभियुक्तमाथि जबरजस्ती करणीको मुद्दा दायर गरिएको माइती नेपालले जनाएको छ।
यसैगरी, गत वर्ष कात्तिक महिनामा काठमाडौँ हुँदै भारतको न्यू मुम्बईस्थित कोठीमा बेचिएकी एक १४ वर्षीया किशोरीलाई पनि माइती नेपालले उद्धार गरेको थियो। मोबाइल किन्न काम खोज्ने क्रममा चिनजानकै व्यक्तिबाट धोका खाएर भारत पुर्‍याइएकी ती किशोरीलाई पछि खोजी गरी सुरक्षित रूपमा नेपाल फर्काइएको थियो।
माइती नेपाल आवधिक गृह, कञ्चनपुरले पछिल्लो एक वर्षमा भारतका विभिन्न स्थानबाट ८ जना बालिका र २ जना महिला गरी १० जनाको उद्धार गरेको जनाएको छ। माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार उद्धार गरिएका व्यक्ति भारतको बिहार, हरियाणा, मुम्बई, हैदराबाद, दिल्ली र गाजियाबाट फेला परेका हुन्। उनीहरूलाई विभिन्न बहानामा भारत पुर्‍याएर श्रम शोषण तथा यौन शोषणमा लगाइएको थियो।
यस अवधिमा भारत लैजाँदै गरेको अवस्थामा कञ्चनपुरका विभिन्न नाकाबाट २०९ जनालाई रोकथाम गरी परिवारको जिम्मा लगाइएको छ। गड्डाचौकी, महाकाली चार लेन पुल, दोधारा–चाँदनी झोलुङ्गे पुल र जिल्लाका अन्य स्थानबाट प्रहरीले माइती नेपालको सहकार्यमा उद्धार गरेको हो। रोकिएका मध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन्।
संयोजक भट्टका अनुसार दलालहरूले भारत पुर्‍याएर श्रम शोषण, यौन पेसा, जबर्जस्ती नाचगान तथा अन्य अमानवीय कार्यमा लगाउने गरेका छन्। यही कारण सीमा क्षेत्रमा निगरानी र परामर्शलाई निरन्तरता दिइँदै आएको छ।
पछिल्लो एक वर्षमा १८९ वटा खोजतलास निवेदन दर्ता भएका छन्, जसमा हालसम्म ८१ जना फेला परेका छन् भने बाँकीको खोजी कार्य जारी रहेको माइती नेपालले जनाएको छ।
शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा माइती नेपालले मानव बेचबिखन रोकथामका लागि गरिएको उद्धार, परामर्श र निगरानीका गतिविधिबारे जानकारी गराएको हो। संस्थाले हालसम्म ४४ हजारभन्दा बढीलाई सीमा नाकामा सचेतनामूलक परामर्श प्रदान गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित