सार्थक डेस्क।नेपाली राजनीतिमा रवि लामिछाने र बालेन शाहको सम्भावित वा घोषित सहकार्यलाई लिएर अनेक व्याख्या भइरहेका छन्। कतिपयले यसलाई ‘नयाँ राजनीतिक विकल्प’को प्रारम्भ मानेका छन् भने कतिपयले यसलाई बढ्दो राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरेका छन्। यथार्थ के हो भने, यो मिलनले नेपाली राजनीतिमा सहमति र स्थायित्वभन्दा बढी ध्रुवीकरणलाई नै मलजल गरेको छ।
यी दुवै पात्र एकाएक राजनीतिमा उदाएका हुन्। स्थापित दल र नेतृत्वमाथि तीव्र आक्रोश व्यक्त गर्दै लोकप्रियता आर्जन गरेका उनीहरू आफैं राजनीतिको केन्द्रमा पुगेपछि भने दललाई गाली गर्नु मात्र पर्याप्त नहुने यथार्थ स्वीकार गर्न बाध्य देखिन्छन्। यही स्वीकारोक्तिको परिणामस्वरूप उनीहरू अहिले ‘एकता’को बाटोमा देखिएका छन्।
भाद्र २३ र २४ गतेका घटनाले यो मिलनको पृष्ठभूमि अझ स्पष्ट बनाउँछ। भाद्र २३ गते नवयुवाहरूले सुरु गरेको भनिएको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत भयो, जसमा केही युवाले ज्यान गुमाए। त्यसको भोलिपल्ट, भाद्र २४ गते, त्यसैको आडमा राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। आगजनी, तोडफोड र विध्वंसका यी घटनाका योजनाकार र सञ्चालक को थिए भन्ने तथ्यहरू क्रमशः सार्वजनिक हुँदै गएका छन्। यही पृष्ठभूमिमा रवि र बालेनमाथि आन्दोलन हाइज्याक गरी अराजकता मच्चाउने योजनामा संलग्न भएको आरोप लागिरहेकै अवस्थामा, आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ जोगाउन उनीहरूबीचको एकता अपरिहार्यजस्तै बनेको देखिन्छ।
भाद्र २३ र २४ का घटनालाई केवल आन्तरिक असन्तुष्टिको विस्फोटका रूपमा बुझ्नु अधुरो विश्लेषण हुनेछ। ती घटनाहरू नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर युक्रेनजस्तै अस्थिर बनाउने दीर्घकालीन षड्यन्त्रको पहिलो चरण भएको संकेत पनि देखिन्छ। चिन्ताको विषय के छ भने, सोही षड्यन्त्रको दोस्रो चरणको तयारीसमेत सुरु भइसकेको चर्चा सार्वजनिक हुन थालेको छ।
यस्तो अवस्थामा संविधान, लोकतन्त्र र राष्ट्रिय सार्वभौमिकताका पक्षधर शक्तिहरू झन् सचेत र एकजुट हुन आवश्यक छ। नेपाल राष्ट्रलाई बाह्य स्वार्थको प्रयोगशाला बन्नबाट जोगाउन राजनीतिक दल, नागरिक समाज र सचेत नागरिक सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने समय यही हो।
यसै सन्दर्भमा ‘नयाँ’ र ‘पुरानो’ राजनीतिको बहस पनि निरर्थक दिशातर्फ धकेलिँदैछ। नेपाललाई बंगलादेशजस्तै बनाउने असफल प्रयासपछि अब ‘पुराना पार्टीलाई हराउन नयाँहरू मिल्नुपर्छ’ भन्ने धारणा स्थापित गर्न खोजिएको देखिन्छ। तर राजनीतिमा पुरानो र नयाँ भन्ने शब्दभन्दा पनि एजेन्डा, नीति र गन्तव्यको अर्थ हुन्छ। नीतिविहीन र एजेन्डाविहीन समूहलाई ‘नयाँ’को पगडी गुथाइदिँदैमा वास्तविक राजनीतिक विकल्प तयार हुँदैन।
वास्तवमा राजनीतिक दलहरूको इतिहास पुरानो हुन सक्छ, तर नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहँदा ती दल सधैं जीवन्त र सान्दर्भिक रहन्छन्। त्यसैले लामो इतिहास भएका दलहरू आफैंमा ‘पुराना’ हुँदैनन्। जुन दल समयअनुकूल परिमार्जन हुन सक्दैनन्, तिनै मात्र क्रमशः समाप्त हुन्छन्—नेपाली राजनीतिमा यस्ता उदाहरण प्रशस्त छन्।
यस सन्दर्भमा नेकपा (एमाले) नेपालका ती राजनीतिक दलमध्ये पर्छ, जसले नीति र नेतृत्वलाई निरन्तर परिमार्जन गर्दै आएको दाबी गर्छ। वर्तमान मात्र होइन, भविष्यको नेतृत्वसमेत गर्ने स्पष्ट सोच र संकल्प बोकेको दलका रूपमा एमाले प्रस्तुत हुँदै आएको छ। यही जीवन्तता र सान्दर्भिकताबाट असहज महसुस गर्ने शक्तिहरूले ‘नयाँहरू मिल्नुपर्छ’ भन्ने बहसलाई अघि सारिरहेका छन् भन्ने दृष्टिकोण पनि सार्वजनिक रूपमा व्यक्त हुँदै आएको छ।
नेपाली राजनीतिका लागि वास्तवमा को नयाँ हो ? रवि, बालेन, हर्क साम्पाङ वा कुलमान ? यी सबै पात्र कुनै न कुनै रूपमा राज्यसत्ता, प्रशासन वा राजनीतिक अभ्यासमा परिक्षण भइसकेका व्यक्ति हुन्। जहाँसम्म ‘जेन–जी’ को कुरा छ, यो कुनै संगठित राजनीतिक शक्ति होइन, सूचना र प्रविधिको विकाससँगै हुर्किएको एउटा उमेर समूह मात्र हो। यही समूहलाई जननिर्वाचित सत्ताविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पूँजीवादी–साम्राज्यवादी शक्तिहरूले विकास गरेको ‘डिप–स्टेट’ र कथित ‘कलर रिभोलुसन’को अवधारणासँग मेल खान्छ।
नेपालको सन्दर्भमा जेन–जी अभियानकर्ताहरूले सुरु गरेको प्रदर्शनमा घुसपैठ गराएर त्यसलाई विध्वंसतर्फ मोड्ने प्रयास भएको तथ्य क्रमशः स्पष्ट हुँदै गएको छ। तर नेपाली समाज र नवयुवाहरूको ठूलो हिस्साले छोटो समयमै त्यो षड्यन्त्र बुझ्न सफल भएको देखिन्छ। भाद्र २३ का प्रदर्शनका प्रारम्भिक अभियानकर्ताहरू नै आज त्यस षड्यन्त्रविरुद्ध प्रतिवादका लागि स्थापित राजनीतिक नेतृत्वसँग संवादमा रहेको अवस्था यसकै उदाहरण हो।
चौतर्फी घेराबन्दीका बाबजुद पनि नवयुवामाझ नेकपा (एमाले) को प्रभाव र लोकप्रियता कायम रहनु संयोग होइन। पछिल्लो समय देशविरुद्ध भइरहेका षड्यन्त्रहरूबारे युवाहरूले जति बुझ्दै गएका छन्, त्यति नै उनीहरू एमाले र यसको नेतृत्वप्रति प्रतिबद्ध देखिन थालेका छन्। यही यथार्थका कारण ‘पुरानाविरुद्ध जसरी पनि नयाँलाई मिलाउने’ प्रयास तीव्र बनेको हो।
तर अब यस्तो प्रयासको सान्दर्भिकता क्रमशः समाप्त हुँदै गएको छ। नेपाली राजनीतिलाई अराजक प्रयोगशाला होइन, स्थायित्व, संविधान र लोकतन्त्रको बाटोमा अघि बढाउन सक्ने परिपक्व निर्णय आजको आवश्यकता हो। रवि–बालेन मिलन त्यस दिशातर्फ जान्छ कि ध्रुवीकरण र अस्थिरताको अर्को अध्याय बन्छ—यसको मूल्याङ्कन अब जनताले गर्नेछन्।


















Discussion about this post