९ बुँदे मागसहित ईपीएस पीडित युवाको आन्दोलन

सार्थक ब्यूरो । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी लामो समयदेखि प्रतीक्षामा रहेका युवाहरू पुनः आन्दोलनमा उत्रिएका छन् । उनीहरूले ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालय अगाडि प्रदर्शन गर्दै आफ्ना मागहरू सार्वजनिक गरेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले १० हजारभन्दा बढी नाम रोस्टरमा रहँदा पनि रोजगारीका अवसर नपाएर भविष्य अन्योलमा परेको आरोप लगाएका छन् । उनीहरूका अनुसार आवश्यकताभन्दा धेरै संख्यामा भाषा परीक्षा पास गराइँदा कोरिया जान पाउनेको संख्या सीमित रहँदा हजारौं युवा रोस्टरमै रोकिएका छन् ।
आन्दोलनरत पक्षको भनाइमा सन् २०२२ यता ईपीएस प्रणालीअन्तर्गत कोरियाको मागभन्दा करिब तीन गुणा बढी परीक्षार्थीलाई उत्तीर्ण गराइएको छ । ‘तीनमध्ये एक मात्र कोरिया जाने’ अवस्थाले ठूलो संख्याका युवाहरू लामो समयदेखि प्रतीक्षामा बस्न बाध्य भएका हुन् ।
उनीहरूका अनुसार २०२२ देखि परीक्षा पास गरेका तर २०२६ नपुग्दै पनि कोरिया जान नपुगेका युवाको संख्या करिब १५ हजार पुगेको छ । यस्तो अवस्था ईपीएस कार्यालय र एचआरडी (HRD) को कमजोरीका कारण उत्पन्न भएको उनीहरूको आरोप छ ।
न्यायको माग गर्दै पटक–पटक सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको प्रदर्शनकारीहरूको भनाइ छ । उनीहरूले सीभीटी (CVT) फाइल नयाँ कम्पनीमा नपठाइने, कृषि तथा सीप क्षेत्रमा रोस्टर अन्त्यतिर पुग्दा पनि फाइल कम्पनीमा नपुग्ने जस्ता समस्या औंल्याएका छन् ।
रोस्टरको दुई वर्षे अवधि सकिन लागेकाले समय थप गर्नुपर्ने, आवश्यक परे सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनुपर्ने उनीहरूको मुख्य माग रहेको छ । बारम्बार भाषा परीक्षा सञ्चालन गर्ने, फाराम भराउने तर रोजगार नदिने अवस्थाले युवाको सपना र भविष्य संकटमा परेको उनीहरूले बताएका छन् ।
मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित