सार्थक ब्यूरो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज औपचारिक रूपमा पार्टी एकता घोषणा हुने भएको छ । राप्रपाले जनाएको अनुसार एकीकरण कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरिएको छ ।
केही दिनअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच दुईबुँदे सहमति भएपछि पार्टी एकताको प्रक्रिया अगाडि बढेको हो । उक्त सहमतिलाई राप्रपा नेपालको केन्द्रीय समितिको बैठकले मंगलबार स्वीकृत गरिसकेको छ ।
यस एकतासँगै अध्यक्ष लिङ्देनसँगको आन्तरिक प्रतिस्पर्धामा पराजित भई चार वर्षअघि पार्टी छाडेका कमल थापा पुनः मूल राप्रपामा फर्किन लागेका छन् । पार्टी एकतापछि राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक भूमिकामा समेटिने प्रतिबद्धता अध्यक्ष लिङ्देनले व्यक्त गरेका छन् ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार एकतापछि पार्टीको महाधिवेशन छ महिनाका लागि स्थगित गरिएको छ । उनका अनुसार तत्काल नेतृत्वको प्रतिस्पर्धाभन्दा संगठन सुदृढीकरण र निर्वाचन तयारीलाई प्राथमिकता दिने रणनीति लिइएको हो ।
नेतृत्व विवाद र राजनीतिक असन्तुष्टिका कारण विभाजनमा पुगेको राप्रपा पुनः एकजुट हुन लागेको यो घटनालाई राष्ट्रिय राजनीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ ।


















Discussion about this post