सार्थक ब्यूरो । नेपाली कांग्रेसले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने तयारी अघि बढाएको जनाएको छ । पार्टीका महामन्त्री गगनकुमार थापाले सो अवधिभित्र विशेष महाधिवेशनतर्फ जाने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका हुन् ।
मेलमिलाप दिवसको अवसरमा सार्वजनिक गरेको शुभकामना सन्देशमार्फत महामन्त्री थापाले राष्ट्रप्रतिको जिम्मेवारी वहन गर्न सक्ने कांग्रेस निर्माण गर्नु अहिलेको प्रमुख दायित्व भएको उल्लेख गरेका छन् । उनले पार्टीलाई अझ सुदृढ, उत्तरदायी र एकीकृत बनाउने लक्ष्यका साथ विशेष महाधिवेशन आवश्यक रहेको धारणा राखेका छन् ।
थापाका अनुसार पार्टीभित्रको संगठनात्मक मजबुती, आन्तरिक लोकतन्त्रको सुदृढीकरण र कार्यकर्ताबीचको एकता कायम गर्न विशेष महाधिवेशन महत्वपूर्ण माध्यम बन्नेछ । “राष्ट्रप्रतिको उत्तरदायित्व निर्वाह गर्न सक्षम कांग्रेस निर्माण गर्नु आजको युगीन आवश्यकता हो,” उनको सन्देशमा उल्लेख छ ।
महामन्त्री थापाले विशेष महाधिवेशन सफल पार्न सबै तहका कांग्रेस कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेका छन् । उनका अनुसार पार्टीभित्र सहकार्य र एकताको वातावरण निर्माण गर्न यो महाधिवेशन निर्णायक हुने अपेक्षा गरिएको छ ।


















Discussion about this post