कञ्चनपुरको चुनावी यथार्थ :के यो भीडले जनतालाई स्पष्ट विकल्प दिन सक्छ ?

सार्थक डेस्क।फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। तथ्यांकले देखाउँछ,कञ्चनपुरमा ५५ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। बाहिरबाट हेर्दा यो लोकतन्त्रको उत्सव जस्तो देखिए पनि, भित्री तहमा यसले राजनीतिक असन्तोष, दलप्रतिको अविश्वास र वैकल्पिक खोजको संकेत गर्छ।निर्वाचन क्षेत्र नं. १ र २ मा समान १९–१९ जना तथा क्षेत्र नं. ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। ठूला दलदेखि साना र स्वतन्त्र उम्मेदवारसम्मको उपस्थितिले चुनावी मैदान भरिएको छ, तर प्रश्न उही छ,के यो भीडले जनतालाई स्पष्ट विकल्प दिन सक्छ ?
कञ्चनपुर–१ मा कांग्रेस, एमाले, नेकपा र रास्वपासहितका दलका उम्मेदवारसँगै स्वतन्त्र र साना दलका उम्मेदवारको उल्लेख्य उपस्थिति छ। कञ्चनपुर–२ मा पनि प्रमुख दलका अनुभवी नेतादेखि पहिलोपटक संघीय चुनाव लड्न लागेकासम्म मैदानमा छन्। कञ्चनपुर–३ मा त झन् पुराना नेता, नयाँ दाबी र वैकल्पिक भनिएका शक्तिहरू एकैसाथ प्रतिस्पर्धामा छन्।तर तीनै क्षेत्रमा देखिएको साझा विशेषता के हो भने, उम्मेदवार धेरै भए पनि राजनीतिक प्रवृत्ति उस्तै देखिन्छ।
स्वतन्त्र उम्मेदवार र साना दलको संख्या बढ्नु सकारात्मक संकेत हो। यसले जनतामा दलहरूप्रतिको असन्तुष्टि बढ्दै गएको देखाउँछ। तर केवल उम्मेदवारी दर्ता हुनु नै विकल्प हुनु होइन। स्पष्ट दृष्टि, विश्वसनीयता र स्थानीय मुद्दामा पकड बिना यी उम्मेदवारीहरू पनि भीडमै सीमित हुने खतरा उत्तिकै छ।
कञ्चनपुरको यो चुनाव सामान्य प्रतिस्पर्धा मात्र होइन। यो ठूला दलका लागि आन्तरिक लोकतन्त्रको परीक्षा, साना दलका लागि विश्वसनीय विकल्प बन्ने अवसर र मतदाताका लागि विवेकपूर्ण निर्णयको चुनौती हो।
उम्मेदवारीको संख्या बढ्दै जानु लोकतन्त्रको बाहिरी सौन्दर्य हुन सक्छ, तर अन्ततः चुनावको मूल्यांकन कसले जित्यो भन्नेमा होइन, जनताले कसलाई सोचेर छाने भन्नेमा हुनेछ।कञ्चनपुरको मतपेटिकाले यसपटक केवल प्रतिनिधि होइन,राजनीतिक संस्कारको भविष्य पनि तय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित