चुनावी रणभूमि : उम्मेदवारीको भीड, नेतृत्वको परीक्षा

प्रदिप कुमार राना

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सुदूरपश्चिम, विशेषतः कैलाली र कञ्चनपुर, फेरि एकपटक राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ। उम्मेदवारी दर्ताको दृश्यले देखाएको वास्तविकता एउटै छ : यो चुनाव केवल जित–हारको प्रतिस्पर्धा होइन, दलभित्रको शक्ति संघर्ष, नेतृत्व चयनको संकट र मतदाताको विवेकमाथिको कडा परीक्षा हो।
सधैं चर्चामा रहने कैलाली निर्वाचन क्षेत्र नं. ५ यसपटक झनै रोचक बनेको छ। नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना, कांग्रेसका अनुभवी नेता नरनारायण शाह, नेकपाका प्रेम आलेमगर र रास्वपाका आनन्द चन्दबीच हुने प्रतिस्पर्धाले यस क्षेत्रलाई ‘प्रतिष्ठाको युद्धभूमि’ बनाएको छ।
ढुंगानाको उम्मेदवारीले एमालेको संगठनात्मक शक्ति देखाउँछ भने, आरजु देउवालाई टिकट नदिएर शाहलाई अघि सार्नु कांग्रेसभित्रको केन्द्रीय निर्णय बनाम स्थानीय चाहनाको स्पष्ट उदाहरण हो। प्रेम आलेमगर जस्ता ‘आयातित’ उम्मेदवारले विकासका ठूला सपना सुनाए पनि मतदाताले अब परियोजनाको सूची होइन, कार्यान्वयनको विश्वसनीयता खोजिरहेका छन्।
कैलाली–४ मा एमाले उपमहासचिव लेखराज भट्टको पुनः उम्मेदवारी विगतको राजनीतिक इतिहाससँग गाँसिएको छ। जित–हार दुवै चाखिसकेका भट्टको पुनरागमनले मतदातामाझ एउटै प्रश्न उब्जाएको छ, “के पुरानै नेतृत्वले नयाँ समाधान दिन सक्छ ?”
कांग्रेसबाट आनन्द विष्ट, नेकपाबाट हरि चौधरी जस्ता उम्मेदवार मैदानमा छन्। तर उम्मेदवारी दर्ताको प्रक्रियामा देखिएको ‘वारिसनामा राजनीति’ ले प्रतिनिधित्वको आत्मा माथि नै प्रश्न उठाएको छ।
कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा ५५ जनाको उम्मेदवारी दर्ता हुनु लोकतन्त्रको बाहिरी सौन्दर्य जस्तो देखिए पनि यसको भित्री सन्देश गहिरो छ।
१५ दल र ११ स्वतन्त्र उम्मेदवार हुनु राजनीतिक चेतनाको संकेत पनि हो, तर सँगै दलप्रतिको बढ्दो असन्तोषको परिणाम पनि।
यहाँ अधिकांश उम्मेदवारहरू पहिल्यै संघ, प्रदेश वा स्थानीय तहमा परीक्षण भइसकेका अनुहार हुन्। नयाँ भनिएका अनुहार पनि प्रायः पुरानै संरचनाबाट आएका छन्। यसले देखाउँछ,दलहरू नयाँ पुस्ताको दाबी सुनिरहेका छैनन्, तर भीड देखाएर लोकतन्त्र बलियो भएको भ्रम सिर्जना गरिरहेका छन्।
कञ्चनपुर–३ मा रमेश लेखकलाई टिकट नदिँदा देखिएको विरोध, पुत्ला दहन र खुला असन्तुष्टि कांग्रेसभित्रको गहिरो विभाजनको संकेत हो। उता एमालेमा पनि आन्तरिक प्रतिस्पर्धामा पराजित नेताहरूलाई टिकट दिइनु, संगठनभन्दा व्यक्ति प्राथमिक हुँदै गएको प्रमाण हो।
युवाका नाममा अघि सारिएका उम्मेदवारहरू पनि पुरानै गुट–उपगुटको छायाँमा देखिनु दुःखद छ। राजनीति विचारको होइन, व्यवस्थापन र पहुँचको खेल बन्दै गएको अनुभूति आम मतदातामा छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति परिवर्तनको संकेत जस्तो देखिए पनि, उनीहरू आफैं आन्तरिक विवाद, बाहिरबाट थोपर्ने निर्णय र स्पष्ट कार्यदिशाको अभावले ग्रस्त छन्। केवल ‘पुराना दल होइन’ भन्नु पर्याप्त हुँदैन; नयाँ राजनीतिक संस्कार देखिनै पर्छ।
यो निर्वाचनमा उम्मेदवार धेरै छन्, नाराहरू चर्का छन्, तर उत्तरदायित्व स्पष्ट छैन। सुदूरपश्चिमका मतदाताले अब पार्टीको झण्डा होइन,
कार्यसम्पादन, इमानदारी र क्षेत्रप्रतिको प्रतिबद्धता हेर्ने साहस गर्नुपर्छ।
लोकतन्त्र उम्मेदवारी दर्तासँग सकिँदैन,लोकतन्त्र मतदाताको विवेकबाट सुरु हुन्छ।यदि फेरि पनि गुट, पहुँच र भावनामा भोट हालियो भने, पाँच वर्षपछि यही असन्तोष फेरि दोहोरिनेछ।यसपटक निर्णय मतपेटिकामा होइन, इतिहासमा लेखिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित