आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम बनाउन सुदूरपश्चिम सरकार सक्रिय

सार्थक व्युरो ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया अघि बढाएको छ। प्रदेश नीति तथा योजना आयोगका अनुसार विभिन्न मन्त्रालयबाट प्रस्तावित कार्यक्रमहरू संकलन गर्ने काम जारी रहेको छ।
आयोगका उपाध्यक्ष डा. जीवन रानाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम संकलन भइरहेको जानकारी दिए। उनका अनुसार सबै प्रस्तावहरू एकत्रित भएपछि आयोग र मन्त्रिपरिषद् कार्यालयबीच छलफल गरी अन्तिम रूप दिइनेछ।
उपाध्यक्ष रानाका अनुसार यसपटक साना कार्यक्रमभन्दा प्रभावकारी र प्राथमिकतायुक्त योजनालाई समेट्ने तयारी गरिएको छ। कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारले जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नुपर्ने हुन्छ।
यता, आगामी बजेटका लागि आवश्यक सीमांकन भने अझै तय हुन सकेको छैन। संघीय सरकारबाट राजस्व बाँडफाँटको विवरण प्राप्त नभएकाले बजेटको अन्तिम सीमा निर्धारणमा ढिलाइ भएको बताइएको छ।
उपाध्यक्ष रानाले प्रारम्भिक रूपमा अनुमानित बजेट सीमा तय गरिए पनि राजस्व बाँडफाँटको तथ्यांक आएपछि मात्रै अन्तिम निर्णय हुने स्पष्ट पारे। उनले छिट्टै आवश्यक विवरण प्राप्त हुने अपेक्षा गर्दै त्यसपछि बजेट प्रक्रियाले गति लिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित