सार्थक डेस्क।डडेल्धुरा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राजनीतिक दलका साथै स्वतन्त्र गरी १३ उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको कार्यतालिकाअनुसार मङ्गलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सञ्चालन गरिएको थियो। यस क्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न दलका उम्मेदवार सहभागी भएका थिए।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अरुणकुमार कोइरालाका अनुसार नेपाली काँग्रेसबाट नैनसिंह महर, नेकपा एमालेबाट चक्रप्रसाद स्नेही र नेपाली कम्युनिष्ट पार्टीबाट मानसिंह मालले मनोनयन दर्ता गराएका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. ताराप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव बिक, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन मगर तथा नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र राज भट्टले उम्मेदवारी दिएका छन्।
स्वतन्त्रतर्फ सुरेन्द्र रावल, गोरखबहादुर ऐर र तिर्थराज उप्रेतीले पनि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता गराउने सबै उम्मेदवार पुरुष रहेका छन्। मनोनयन दर्ता सकिएसँगै अब उम्मेदवार नामावली प्रकाशन, दाबी–विरोध र अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया अघि बढाइने जनाइएको छ। डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ।


















Discussion about this post