१२ वर्षदेखि रोकिएको धौलीगाड मोटरेबल पुल निर्माण पुनः सुरु

सार्थक ब्यूरो।महाकाली लोकमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्डमा पर्ने धौलीगाड खोलाको मोटरेबल पुल निर्माण कार्य पुनः अघि बढाइएको छ। करिब १२ वर्षदेखि विभिन्न कारणले रोकिएको उक्त पुलको बाँकी कामका लागि बजेट सुनिश्चित भएपछि निर्माण प्रक्रिया फेरि सुरु गरिएको हो।
सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पुल सम्पन्न गर्न दुई करोड रुपैयाँ विनियोजन गरेसँगै काम अघि बढाइएको सडक डिभिजन कार्यालय बैतडीका इन्जिनियर तथा सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार पुलको बायाँतर्फको पिलर करिब ७० प्रतिशत निर्माण भइसकेको छ भने अब बाँकी संरचना तयार गरिनेछ।
उक्त पुल निर्माणका लागि आर्थिक वर्ष २०७०/७१ मा धनगढीस्थित आशिष कन्स्ट्रक्सनसँग सम्झौता भई काम थालिएको थियो। तर पुल निर्माणस्थलको जग्गा मुआब्जा विवादका कारण काम रोकिँदै अलपत्र परेको थियो। महाकाली नगरपालिका–५ गल्फै क्षेत्रमा पर्ने जग्गाको क्षतिपूर्ति विषयमा असन्तुष्ट सात–आठ जना जग्गाधनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि निर्माण प्रक्रिया ठप्प भएको थियो।
जग्गाधनीले मुआब्जा प्राप्त गरिसकेपछि निर्माणको अवरोध हटेको र पुरानै निर्माण कम्पनीसँग २०८३ असार १५ गतेभित्र काम सक्ने गरी नयाँ सम्झौता गरिएको इन्जिनियर पन्तले बताउनुभयो। पुलको लम्बाइ २५ मिटर रहने जनाइएको छ।
धौलीगाड खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयवासी बताउँछन्। छोटो तथा लामो दूरीका सवारीसाधनलाई खोलो वारपार गर्न जोखिम मोल्नुपर्ने अवस्था रहँदै आएको छ।
निर्माण कम्पनीका प्रतिनिधि लालबहादुर चन्दले तोकिएको समयसीमाभित्रै पुलको बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित