सार्थक व्युरो ।बैतडीको पुर्चौडी नगरपालिका–३ सल्लेवनस्थित भूमिराज आधारभूत विद्यालयमा अध्ययनरत साना बालबालिका जीर्ण भवनमा जोखिमपूर्ण अवस्थामै पठनपाठन गर्न बाध्य भएका छन्। विद्यालयको शिशु कक्षा र कक्षा १ मा अध्ययन गर्ने विद्यार्थीहरू छत भत्किएको भवनमै बसेर पढ्नुपरेको शिक्षकहरूले बताएका छन्।
विद्यालयको कार्यालयसहित शिशु कक्षा र कक्षा १ सञ्चालन हुने दुईकोठे भवनको छत पुरानो भएर गत कात्तिक महिनामा भत्किएको थियो। विद्यालयका शिक्षक सन्तोषकुमार बर्माका अनुसार भवनको धुरी भाँचिएपछि छत भासिएको अवस्था छ, जसका कारण कक्षा सञ्चालन जोखिमपूर्ण बनेको छ।
विद्यालयमा अर्को पक्की भवन भए पनि कक्षा ५ सम्म पढाइ सञ्चालन गर्नुपर्ने भएकाले साना बालबालिकालाई क्षतिग्रस्त भवनमै राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक बर्माले बताए। स्थानीय लोकेन्द्रबहादुर धामीका अनुसार विद्यालय २०६६ सालमा स्थापना भएको हो भने २०७० सालमा स्थानीय काठ, ढुङ्गा र माटो प्रयोग गरी भवन निर्माण गरिएको थियो। प्रयोग गरिएका काठ मक्किँदै गएपछि छत भत्किएको हुन सक्ने उनको भनाइ छ।
धामीले भवन निर्माण भएयता कुनै पनि निकायबाट मर्मतसम्भार नभएको भन्दै चिन्ता व्यक्त गरे। “भविष्यका कर्णाधार मानिने बालबालिका सानै उमेरदेखि जोखिमपूर्ण अवस्थामा पढ्न बाध्य छन्। स्थानीय सरकारले भवन मर्मत गरेर उनीहरूलाई सुरक्षित वातावरणमा शिक्षा पाउने अधिकार सुनिश्चित गर्नुपर्छ,” उनले भने।
यसैबीच विद्यालयको पक्की भवनको सिँढीघरमा राखिएको जस्तापाताको छत पनि गत असोजमा आएको हावाहुरीले उडाएको थियो। उक्त छतसमेत हालसम्म मर्मत हुन नसकेको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार शिशु कक्षा र कक्षा १ मा गरी करिब ३० जना विद्यार्थी अध्ययनरत छन्। भवनको क्षतिबारे पुर्चौडी नगरपालिका–३का वडाध्यक्ष खगेन्द्रबहादुर बोहोरालाई जानकारी गराइएको शिक्षक बर्माले बताए। वडाध्यक्ष बोहोराले भने आगामी आर्थिक वर्षको बजेटमा आवश्यक मर्मतसम्भारका लागि पहल गर्ने जानकारी दिएका छन्।
यसैबीच विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएको एक वर्ष बितिसक्दा पनि नयाँ समिति गठन हुन सकेको छैन। समिति अभावका कारण विद्यालय व्यवस्थापनसँग सम्बन्धित धेरै कामहरू प्रभावित बनेको विद्यालय स्रोतले जनाएको छ।


















Discussion about this post