सार्थक व्युरो ।कञ्चनपुर जिल्लाका विभिन्न वन क्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। तीन दिनदेखि निरन्तर सल्किएको आगो निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गतका जंगलहरूमा फैलिँदै गएको हो।
बेलौरी, बेलडाँडी र लालझाडी आसपासका वन क्षेत्रमा लागेको आगोले सामुदायिक वनमा ठूलो क्षति पुगेको स्थानीयवासीले बताएका छन्। डढेलोका कारण वन्यजन्तु आफ्नो बासस्थान छोड्न बाध्य भएका छन् भने आसपासका बस्तीमा दुर्गन्ध फैलिएको वनसाह क्षेत्रका रमेश रानाले जानकारी दिए।
डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरका अनुसार डढेलो नियन्त्रणका लागि विभिन्न प्रयास भइरहे पनि आगो अझै नियन्त्रणबाहिर छ। उनका अनुसार गर्मी सुरु भएसँगै हरेक वर्षजस्तै यस वर्ष पनि वन क्षेत्रमा डढेलो बढेको छ।
कार्यालयले सामुदायिक वन समूहलाई हाते उपकरण वितरण गर्नुका साथै अग्निरेखा सफा गर्ने निर्देशन दिएको जनाएको छ। साथै, झाडी सफाइ र सुकेका काठ हटाउने कार्यसमेत भइरहेको छ। तर, आगो नियन्त्रणका लागि आवश्यक दमकल र ट्याङ्कर जस्ता उपकरणको अभाव रहेको उनले बताए। आवश्यकता पर्दा स्थानीय तहसँग सहकार्य गरिने गरिएको छ।
यस्तै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रका जंगलहरू पनि डढेलोबाट प्रभावित भएका छन्। रानादैजी, गोबरिया, बेलडाँडी, लालझाँडी र कुन्डा क्षेत्रका बासिन्दाले धुवाँ र दुर्गन्धका कारण दैनिक जीवन प्रभावित भएको बताएका छन्। भीमदत्त नगरपालिका–१५ गोबरियाकी देवकी थापाले धुवाँ बस्तीमा फैलिँदा घरमै बस्न गाह्रो भएको गुनासो गरिन्। महेन्द्रनगर बजारसम्म पनि यसको असर देखिएको स्थानीयको भनाइ छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले डढेलो नियन्त्रणका लागि नेपाली सेनासँगको सहकार्यमा हाते उपकरण प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास भइरहेको बताए। तर, एकैपटक ठूलो क्षेत्रफलमा फैलिने आगो नियन्त्रण गर्न चुनौतीपूर्ण हुने उनले बताए।
डढेलो प्रायः मानवीय गतिविधिका कारण हुने गरेको उल्लेख गर्दै अधिकारीहरूले सचेतना आवश्यक रहेको बताएका छन्। यद्यपि, वनमा आगो लगाउनेलाई कानुनी कारबाहीको व्यवस्था भए पनि हालसम्म कसैलाई पक्राउ गर्न नसकिएको जनाइएको छ।


















Discussion about this post