आमपानी झरनामा बढ्दो आकर्षण, गर्मीसँगै पर्यटकको चहलपहल तीव्र

सार्थक व्युरो ।गर्मीको प्रभाव बढ्दै जाँदा प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्न थालेको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित बर्गदा सामुदायिक वनभित्र रहेको आमपानी झरना पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।
पहिले फाट्टफुट्ट मात्र आगन्तुक पुग्ने यो स्थानमा अहिले दैनिकजसो पर्यटकको उपस्थिति देखिन थालेको छ। लम्कीबाट करिब आठ किलोमिटर उत्तर चुरे क्षेत्रको फेदीमा अवस्थित उक्त झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ। चुरे पहाडबाट बग्ने खोलाको पानी ठूला ढुंगामाथि खस्दै झरनाको स्वरूप लिँदा आकर्षक दृश्य देखिन्छ।
खोलामा बनेका साना–ठूला तालहरूमा अहिले पर्यटक दिनभर रमाउने गरेका छन्। स्थानीय युवा व्यवसायी हरिकृष्ण चौलागाईंका अनुसार नजिकै भएकाले उनीहरू प्रायः साथीहरूसँग मोटरसाइकलमा झरनामा पुग्ने गर्छन्। गर्मीका बेला यहाँको चिसो वातावरणले राहत दिने भएकाले दिनभर घुमघाम गरेर फर्किने गरेको उनले बताए।
यद्यपि, पर्यटकको संख्या बढेसँगै फोहोर व्यवस्थापनमा समस्या देखिन थालेको छ। झरना क्षेत्र वरपर प्लास्टिकजन्य वस्तु र मदिराका बोतल जथाभावी फालिएको देखिएको भन्दै सरोकारवालाको ध्यानाकर्षण आवश्यक रहेको स्थानीयले बताएका छन्।
कोभिड–१९ महामारीको समयमा चर्चामा आएको यस झरनालाई व्यवस्थित बनाउन प्रदेश तथा स्थानीय सरकारले पूर्वाधार निर्माणमा लगानी गरेका छन्। यहाँ पुग्ने बाटो सुधार, वनभोज स्थल, शौचालय तथा झरनामा नुहाउन मिल्ने संरचना निर्माण गरिएका छन्।
मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार झरनामा पर्यटकको आकर्षण बढ्दै गएकाले व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यहाँका पूर्वाधार विकासमा सहयोग गरिएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख डबलबहादुर बोहोराले पदमार्ग र स्नानस्थल निर्माणका लागि करिब ३६ लाख रुपैयाँ खर्च गरिएको जानकारी दिए। उनका अनुसार पर्यावरणीय पर्यटनको रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार विस्तार गरिएको हो।
यद्यपि, झरना क्षेत्रको संरक्षण तथा सरसफाइको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिले अपेक्षाअनुसार फोहोर व्यवस्थापनमा सक्रियता नदेखाएको गुनासो स्थानीयको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित