सार्थक व्युरो ।सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन पहिलो केबलकार आयोजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ। जाल्पादेवी केबलकार निर्माण कम्पनीले अघि सारेको चिसापानी–राजकाँडा केबलकार परियोजनामा प्रारम्भिक संरचनाको काम सम्पन्न भइसकेको छ भने हाल पिलर जडानको काम भइरहेको छ।
२०८२ साल पुस महिनादेखि सुरु भएको निर्माण कार्य अन्तर्गत बेस संरचना तयार भइसकेको र अब पिलर स्थापना भइरहेको कम्पनीले जनाएको छ। कुल १४ वटा पिलरमध्ये हालसम्म ३ वटा जडान भइसकेका छन् भने ३४ वटा गोन्दुला जडान गरिने योजना रहेको छ।
परियोजनाका सञ्चालक सूर्यबहादुर थापाका अनुसार निर्माण कार्य निर्धारित समयभन्दा केही ढिला भए पनि आगामी असारसम्म, नभए दशैंसम्म केबलकार सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। प्रारम्भिक रूपमा वैशाखमै सञ्चालन गर्ने तयारी भए पनि व्यक्तिगत स्वास्थ्य समस्या र राजनीतिक कारणले ढिलाइ भएको उहाँले जानकारी दिनुभयो।
इटलीबाट आवश्यक उपकरण र प्राविधिक टोली ल्याएर काम अघि बढाइएको छ। रोपवे प्रविधिमार्फत पिलर जडान भइरहेको छ। राजकाँडा क्षेत्रमा केबलकारसँगै मालिका मन्दिर, चमेना गृह, टिकट काउण्टर र पहुँच मार्ग निर्माणका काम पनि समानान्तर रूपमा भइरहेका छन्। विभिन्न आठ ठेकेदारमार्फत फरक–फरक काम सञ्चालन हुँदा प्रगति द्रुत देखिएको छ।
मालिकादेवी मन्दिर निर्माणको करिब आधा काम पूरा भइसकेको छ। मन्दिरसम्म पुग्ने बाटोमा ढुंगा छपाई गरी आकर्षक पदमार्ग निर्माण भइरहेको छ। कम्पनीले करिब २० विघा जमिन आफ्नो नाममा ल्याई आवश्यक प्रक्रिया पूरा गरेपछि निर्माण सुरु गरेको हो।
यो परियोजनामा आइएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको ७५ प्रतिशत र कैलालीका व्यवसायी सूर्यबहादुर थापाको २५ प्रतिशत लगानी रहेको छ। करिब पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको कुल दूरी करिब ३.१ किलोमिटर रहने जनाइएको छ, यद्यपि लागत बढ्न सक्ने सम्भावना पनि औंल्याइएको छ।
टप र बटम स्टेसनमा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ। केबलकार सञ्चालनमा आएपछि मोहन्याल गाउँपालिका–७ स्थित ऐतिहासिक धुलिकोट दरबार क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र स्थानीय आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ।
स्थानीय होटल व्यवसायी खेम खत्रीले केबलकार सञ्चालनपछि पर्यटकको आवागमन बढ्ने र व्यवसायमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। हाल पनि गर्मी छल्न तथा दृश्यावलोकनका लागि आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो।
राजकाँडा क्षेत्रमा हाल खानेपानी र विद्युत् आपूर्तिमा समस्या रहेको छ। केबलकार सञ्चालनसँगै यी आधारभूत सेवामा सुधार आउने आशा स्थानीयले गरेका छन्। निजी क्षेत्रको लगानीमा अघि बढेको यस परियोजनाले पूर्वाधार विकाससँगै रोजगारी सिर्जना र राजस्व वृद्धि गर्ने अपेक्षा गरिएको छ।
उल्लेखनीय छ, २०८२ साल वैशाखमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त आयोजनाको शिलान्यास गर्नुभएको थियो। साथै, मालिका मन्दिर निर्माण सम्पन्न भएपछि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट उद्घाटन गराउने तयारी समेत भइरहेको जनाइएको छ।


















Discussion about this post