आगामी बजेट निजी लगानी र रोजगारी प्रवर्द्धनमा केन्द्रित हुने

सार्थक व्युरो ।अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रको लगानी आकर्षित गर्ने, उत्पादन वृद्धि गर्ने तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर ल्याइने बताउनुभएको छ ।
बजेट निर्माणका विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै सचिव उपाध्यायले मुलुकमा राजनीतिक स्थायित्वसँगै सकारात्मक वातावरण बनेको उल्लेख गर्दै अर्थ मन्त्रालयले त्यसअनुसार नीतिगत तयारी अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँले सरकारी लगानीले निजी क्षेत्रलाई थप लगानी गर्न प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो । विगतमा सरकारले जलविद्युत् क्षेत्रमा प्रसारण लाइन निर्माण तथा सिमेन्ट उद्योगसम्म पहुँचमार्ग विस्तार गरिदिँदा ती क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै यस्ता सफल अभ्यास अन्य क्षेत्रमा पनि विस्तार गरिने बताउनुभयो ।
सचिव उपाध्यायले आर्थिक विकासको भावी मार्गचित्रका रूपमा ‘५–डी’ अवधारणा अघि सार्नुभयो । उहाँका अनुसार लोकतन्त्र र सुशासनको लाभमार्फत आर्थिक वृद्धिलाई गति दिने, सक्रिय युवा जनशक्तिलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने तथा निजी क्षेत्रका कानुनी र प्रक्रियागत जटिलता हटाउन ‘डि–रेगुलेसन’ आवश्यक रहेको छ ।
उहाँले प्रविधिमा आधारित आर्थिक विकासलाई प्राथमिकता दिँदै डिजिटल सम्पत्ति र डिजिटाइजेसनमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । सरकारी खर्चको प्रभावकारिताबारे चर्चा गर्दै उहाँले एक रुपैयाँ सरकारी लगानीले कति निजी लगानी आकर्षित गर्न सक्छ भन्ने विषयमा स्पष्ट रणनीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
विदेशमा रहेका नेपालीको सीप, अनुभव र पूँजीलाई सार्वजनिक पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सके देशको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने सचिव उपाध्यायको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित