सार्थक व्युरो । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा अझै २४ अर्बभन्दा बढी बजेट खर्च गर्न बाँकी रहेको देखिएको छ। प्रदेश सरकारको खर्च प्रगति अपेक्षाअनुसार हुन नसकेको तथ्यांकले देखाएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३३ अर्ब ४५ करोड ५१ लाख रुपैयाँको बजेट ल्याएको थियो। तर वैशाख मसान्तसम्म, अर्थात् १० महिनाको अवधिमा, जम्मा ९ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल बजेटको करिब २७ दशमलव ९१ प्रतिशत हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगततर्फ विनियोजित १९ अर्ब ८३ करोड ८५ लाख रुपैयाँमध्ये हालसम्म ४ अर्ब १७ करोड ७३ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यसले पुँजीगत खर्चको अवस्था निकै कमजोर रहेको देखाउँछ। हालसम्म पुँजीगत बजेटको २१ दशमलव ०६ प्रतिशत मात्र खर्च भएको छ।
यस्तै चालुतर्फ विनियोजन गरिएको १३ अर्ब ६० करोड ६६ लाख रुपैयाँमध्ये ५ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ, जुन करिब ३७ दशमलव ९२ प्रतिशत हो।
आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम ले जेनजी आन्दोलन र निर्वाचनका कारण विकास निर्माणका काम समयमा अघि बढ्न नसक्दा खर्च प्रगति कमजोर देखिएको बताएका छन्। उनले हरेक वर्ष अन्तिम दुई महिनामा भुक्तानीको चाप बढ्ने भएकाले असार मसान्तसम्म खर्च प्रतिशत उल्लेख्य रूपमा बढ्ने दाबी गरे। उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म कुल बजेट खर्च ६५ देखि ७० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
कार्यालयगत खर्च विवरणअनुसार प्रदेश व्यवस्थापिकाले सबैभन्दा बढी ५७ दशमलव ७ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश लोकसेवा आयोगको खर्च ४२ दशमलव १० प्रतिशत रहेको छ।
त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३३ दशमलव ४७ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ३६ दशमलव ५३ प्रतिशत तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २८ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च २१ दशमलव ०५ प्रतिशत मात्रै रहेको छ। सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म २४ दशमलव ३८ प्रतिशत खर्च गर्दा सामाजिक विकास मन्त्रालयले ३५ दशमलव ८६ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश योजना आयोगको खर्च प्रगति २९ दशमलव ५९ प्रतिशत रहेको छ।
प्रदेश सरकारले अर्थ वित्तीय व्यवस्था तथा अर्थ विविध शीर्षकमा विनियोजन गरेको रकम भने हालसम्म खर्च हुन सकेको छैन।


















Discussion about this post