सार्थक व्युरो ।सुदूरपश्चिम प्रदेशमा वैशाख महिनाभरि मात्रै १९३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने ३१६ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
प्रहरीका अनुसार अधिकांश दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। कुल दुर्घटनामध्ये १८२ वटा चालकको त्रुटिका कारण भएका हुन्। त्यसबाहेक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ३, सवारी साधनकै समस्याले १, यात्रुको कारण २, सडकको अवस्थाका कारण १ तथा चौपायाका कारण ४ दुर्घटना भएका प्रहरीले जनाएको छ।
सोही अवधिमा प्रदेशभर ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ४२४ वटा सवारी साधनमाथि कारबाही गरिएको छ। उक्त कारबाहीबाट २८ लाख ७४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रहरी नायब उपरीक्षक Pal ले जानकारी दिएका छन्।
यस्तै, वैशाख महिनामै विभिन्न विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका छन्। प्रहरी विवरणअनुसार एक महिनामा ९३ वटा विपद्का घटना भएका छन्, जसमा २२ जना घाइते भएका छन् भने करिब ८१ लाख ३२ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ।
विपद्का घटनामा जंगली जनावरको आक्रमण, आगलागी, पानीमा डुब्ने, सर्पदंश, करेन्ट लाग्ने तथा लडेर घाइते हुनेजस्ता घटना समावेश रहेका छन्।


















Discussion about this post