भाषण होइन, भरोसा चाहिएको छ

सार्थक डेस्क। नेपालको राजनीति फेरि एकपटक निर्णायक मोडमा उभिएको छ। जनताले परिवर्तनको पक्षमा अभूतपूर्व जनादेश दिएका छन्, पुराना राजनीतिक प्रवृत्तिप्रति असन्तोष प्रकट गरेका छन् र नयाँ शक्तिप्रति आशा व्यक्त गरेका छन्। तर इतिहासले बारम्बार देखाएको एउटा कठोर सत्य के हो भने केवल सत्ता परिवर्तनले राष्ट्रको भाग्य परिवर्तन हुँदैन। परिवर्तनलाई परिणाममा बदल्न स्पष्ट दृष्टिकोण, दूरदर्शी नेतृत्व र राष्ट्रिय प्राथमिकताको स्पष्ट खाका आवश्यक पर्छ। आज देश ठीक त्यही अभावसँग जुधिरहेको छ।
विगतका वर्षहरूमा नेपाली राजनीतिले अस्थिरता, शक्ति संघर्ष र प्रतिशोधको संस्कार धेरै भोग्यो। सरकार फेरिए, अनुहार फेरिए, गठबन्धन फेरिए, तर जनजीवनका मूल समस्या उस्तै रहे। बेरोजगारी बढ्दै गयो, महँगीले जनतालाई थिच्दै लग्यो, उत्पादनमुखी अर्थतन्त्र कमजोर बन्दै गयो र लाखौं युवाको भविष्य विदेशी भूमिमा बन्धक बनिरह्यो। राज्यका संरचनाहरू बलिया हुन सकेनन्, संस्थाहरू राजनीतिक प्रभावबाट मुक्त हुन सकेनन्। यही पृष्ठभूमिमा जनताले नयाँ आशाका साथ परिवर्तनको पक्षमा मत दिएका हुन्।
जनताको अपेक्षा अत्यन्त स्पष्ट छ , देशले अब राजनीतिक द्वन्द्व होइन, आर्थिक पुनर्जागरण खोजेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, कृषि, सुशासन र विकासलाई केन्द्रमा राखेर राष्ट्रिय अभियान सुरु होस् भन्ने जनचाहना छ। तर दुर्भाग्य, राजनीतिक वृत्तमा अझै पनि प्रतिशोध, शक्ति प्रदर्शन र संरचना नियन्त्रणको प्रवृत्ति हाबी देखिन्छ। यही कारण जनतामा आशाभन्दा बढी अन्योल बढ्न थालेको छ।
लोकतन्त्रको मूल आत्मा प्रतिस्पर्धा होइन, उत्तरदायित्व हो। निर्वाचनमा विजय प्राप्त गर्नु अन्तिम उपलब्धि होइन, त्यो त जनताप्रति उत्तरदायित्वको प्रारम्भ मात्र हो। जनताले दिएको विश्वासलाई राजनीतिक प्रतिशोधको औजार बनाइयो भने त्यो जनादेशको अपमान हुनेछ। आज देशलाई अदालत, अख्तियार र अनुसन्धान निकायलाई निष्पक्ष रूपमा काम गर्न दिने संस्कार चाहिएको छ । सरकार स्वयं प्रतिशोधको केन्द्र बन्ने प्रवृत्ति होइन।
त्यसैगरी संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने अभ्यासले पनि लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँछ। बलियो जनसमर्थन प्राप्त सरकारले संवाद, बहस र संसदीय प्रक्रियालाई सम्मान गर्नुपर्छ। विधिको शासनमा विश्वास गर्ने सरकार जनताको विश्वास जित्न सफल हुन्छ । शक्ति प्रदर्शनमा रमाउने सरकार अन्ततः आफ्नै बोझले कमजोर बन्छ।
अर्कोतर्फ, देशको अर्थतन्त्र अत्यन्त संवेदनशील अवस्थामा छ। बजारमा मूल्यवृद्धि अचाक्ली छ, उत्पादन क्षेत्र सुस्त छ, लगानी वातावरण अनिश्चित छ। कृषि अझै परम्परागत ढाँचामै सीमित छ भने उद्योग विस्तारको स्पष्ट नीति देखिएको छैन। युवाहरूमा निराशा बढ्दो छ। राज्यले अवसर सिर्जना गर्न नसक्दा देशको ऊर्जाशील जनशक्ति विदेशिन बाध्य भइरहेको छ। यो केवल आर्थिक समस्या होइन, राष्ट्रिय भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो।
नेपालसँग सम्भावना प्रशस्त छन्। जलस्रोत, पर्यटन, कृषि, जडीबुटी, खानी तथा युवा जनशक्ति ,यी सबैलाई सही ढंगले परिचालन गर्न सके देश आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छ। तर त्यसका लागि दीर्घकालीन राष्ट्रिय दृष्टिकोण आवश्यक छ। सरकार फेरिनेबित्तिकै नीति फेरिने प्रवृत्तिले विकासलाई निरन्तर अवरुद्ध बनाएको छ। राष्ट्र निर्माण निरन्तरता, स्थायित्व र स्पष्ट दिशाबाट सम्भव हुन्छस आवेग, प्रतिशोध र तात्कालिक लोकप्रियताबाट होइन।
आज मुलुकलाई यस्तो नेतृत्व चाहिएको छ जसले केवल वर्तमानको राजनीति होइन, भविष्यको नेपाल देख्न सकोस्। जसले चुनावी नाराभन्दा माथि उठेर पुस्ता बदल्ने योजना बनाउन सकोस्। जसले युवालाई विदेशिन होइन, आफ्नै देशमा सम्भावना देख्न प्रेरित गर्न सकोस्। जसले राज्यका संस्थालाई बलियो बनाओस्, विधिको शासनलाई सम्मान गरोस् र जनताको आशालाई परिणाममा बदल्न सकोस्।
देश कठिन मोडमा अवश्य छ, तर निराशाजनक अवस्थामा छैन। इतिहासले देखाएको छ ,स्पष्ट दृष्टिकोण भएका राष्ट्रहरूले संकटलाई अवसरमा बदल्न सक्छन्। नेपालले पनि अब त्यही बाटो समात्नुपर्छ। राजनीतिक दलहरूले शक्ति संघर्षभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिन सक्ने हो भने देशलाई स्थायित्व, विकास र समृद्धिको दिशामा अघि बढाउन अझै ढिला भएको छैन।
आज देशलाई भाषण होइन, भरोसा चाहिएको छ। नाराभन्दा बढी नतिजा चाहिएको छ। र सबैभन्दा बढी , देशलाई स्पष्ट दृष्टिकोण चाहिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित