सार्थक व्युरो ।कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित क्याम्प चेकपोष्ट नजिक दैजी–बेलडाँडी सडकखण्डमा बाघको आक्रमणका कारण मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका चार जना घाइते भएका छन्। समयमै गरिएको उद्धार र उपचारका कारण उनीहरूको ज्यान जोगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासको जंगल क्षेत्र हुँदै यात्रा गरिरहेका बेला अचानक सडकमा आएको बाघ मोटरसाइकलतर्फ झम्टिएपछि चालकले सन्तुलन गुमाउँदा दुर्घटना भएको हो। घटनापछि स्थानीयवासी, प्रहरी र उद्धारकर्मी तत्काल घटनास्थलमा पुगेका थिए।
घाइतेहरूलाई प्रारम्भिक उद्धारपछि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
उद्धार कार्यमा स्वास्थ्य कार्यालय बैतडीका कर्मचारीको पनि महत्वपूर्ण भूमिका रहेको खुलेको छ। बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको स्वास्थ्य कार्यालयको बा २ झ १४४५ नम्बरको गाडीले दुर्घटना देखेपछि तत्काल घाइतेको उद्धारमा सहयोग गरेको थियो।
स्वास्थ्य कार्यालयका लेखा अधिकृत गणेशसिंह ठगुन्ना र चालक चन्द्रसिंह कार्कीले घाइते चारै जनालाई गाडीमा राखेर अस्पतालसम्म पुर्याएका थिए। उनीहरूको मानवीय संवेदनासहितको सक्रियताको स्थानीयले प्रशंसा गरेका छन्।
घटनापछि निकुञ्ज आसपासका क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। वन्यजन्तुको आवतजावत बढ्दै गएकाले विशेषगरी रातिको समयमा सतर्क भएर यात्रा गर्न सुझाव दिइएको छ।
स्थानीयका अनुसार प्रहरी, स्वास्थ्यकर्मी, उद्धार टोली र सर्वसाधारणबीचको समन्वयका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।


















Discussion about this post