कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने बोर्डको तयारी

सार्थक व्युरो । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ। नतिजा प्रकाशनलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले आवश्यक प्रक्रिया तीव्र गतिमा अगाडि बढाइरहेको छ।
परीक्षा सकिएको करिब दुई सातामै नतिजासम्बन्धी आधाभन्दा बढी काम सम्पन्न भइसकेको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार हाल उत्तरपुस्तिका परीक्षणको काम ५० प्रतिशतभन्दा बढी पूरा भइसकेको छ।
उनले परीक्षण सम्पन्न भएका विषयहरूको सम्परीक्षण तथा प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने कार्यसमेत सँगसँगै भइरहेको जानकारी दिए। “जुन विषयको परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण तुरुन्तै सुरु हुन्छ र त्यसपछि प्राप्ताङ्क इन्ट्रीको काम पनि अघि बढाइन्छ,” उनले बताए।
नतिजा प्रकाशनमा ढिलाइ नहोस् भन्ने उद्देश्यले बोर्डले परीक्षा सकिएकै दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरेको जनाएको छ। देशभरका ४२ वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ।
परीक्षा नियन्त्रक शर्माले ४५ दिनभन्दा ढिलो नतिजा नआउने दाबी गर्दै सम्भव भएसम्म अझ चाँडो सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।
यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए। यसअघि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गर्दै नयाँ रेकर्ड कायम गरेको थियो। विगतमा एसइई र कक्षा १२ को नतिजा सार्वजनिक गर्न सामान्यतया तीन महिनासम्म लाग्ने गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित