सार्थक व्युरो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको ४८औँ बैठकले दलभित्रको एकतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै पूर्वमा दर्ता गरिएको हस्ताक्षर अभियानलाई अब प्रभावहीन भएको निष्कर्ष निकालेको छ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बुधबार बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, पार्टीको भूमिका र प्रदेश सरकारका आगामी कार्यदिशाबारे छलफल गरेको थियो।
बैठकमा प्रदेशसभा सदस्य मानबहादुर रावल, दिवानसिंह विष्टसहितका सदस्यहरूले जेठ ८ गते पेश गरेको निवेदनबारे पनि समीक्षा गरिएको थियो। संसदीय दलले जेठ १७ गते १२ जना प्रदेशसभा सदस्यको उपस्थितिमा बसेको बैठकबाट वर्तमान सरकारले नै आगामी आर्थिक वर्षको बजेट ल्याउने निर्णय गरिसकेको उल्लेख गर्दै उक्त निवेदनको औचित्य समाप्त भइसकेको जनाएको छ।
बैठकमा सहभागी सांसदहरूले लोकतान्त्रिक मूल्य–मान्यता, जनउत्तरदायित्व र पार्टी अनुशासनलाई केन्द्रमा राख्दै संगठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिएका थिए। साथै, पार्टीभित्र देखापर्ने मतभेद र असहमतिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै अघि बढ्नुपर्ने निष्कर्ष पनि निकालिएको छ।
संसदीय दलले जारी गरेको निष्कर्षमा सुदूरपश्चिम प्रदेशमा कांग्रेस संसदीय दल पूर्ण रूपमा एकताबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विकास, जनताको हित र पार्टीको प्रतिष्ठा अभिवृद्धिका लागि सबै सांसदहरू जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।








Discussion about this post