सार्थक व्युरो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरका एक युवा स्वदेश फर्किएपछि कृषि व्यवसायमा सफल बन्दै राष्ट्रिय स्तरको उत्कृष्ट कृषक सम्मान प्राप्त गर्न सफल भएका छन्।
लालझाडी गाउँपालिका–४ निवासी विजयकुमार चौधरीले मलेसियामा करिब तीन वर्ष श्रम गरेर स्वदेश फर्किएपछि मत्स्यपालन व्यवसाय सुरु गरेका थिए। हाल उनी माछापालन क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेका छन्।
गत जेठ १५ गते कृषि, वन तथा वातावरण मन्त्रालयको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार प्राप्त गरेपछि चौधरी थप उत्साहित भएका छन्। मन्त्रालयले देशभरका सात प्रदेशबाट दुई–दुई जना गरी १४ उत्कृष्ट कृषक छनोट गरी सम्मान गरेको थियो। पुरस्कारस्वरूप उनले दुई लाख रुपैयाँ नगदसमेत प्राप्त गरेका छन्।
राष्ट्रपतिबाट सम्मानित हुन पाउँदा कृषि पेशाप्रति थप जिम्मेवारी र उत्साह बढेको चौधरी बताउँछन्। उनका अनुसार अब युवाहरूलाई पनि उत्पादनमूलक कृषि व्यवसायमा आकर्षित गर्ने लक्ष्यसहित व्यवसाय विस्तारको तयारी भइरहेको छ।
चौधरीले विगत सात वर्षदेखि लालझाडीको सिकलपट्टी क्षेत्रमा करिब तीन बिघा क्षेत्रफलमा माछा पोखरी सञ्चालन गर्दै आएका छन्। उनले निकट भविष्यमा थप पाँच बिघा जग्गा भाडामा लिएर उत्पादन वृद्धि गर्ने योजना बनाएका छन्।
हाल वार्षिक करिब ४५ क्विन्टल माछा बिक्री गर्दै आएका चौधरीले यस व्यवसायबाट वर्षमा नौ लाख रुपैयाँभन्दा बढी बचत हुने गरेको जानकारी दिए। उनका अनुसार उत्पादन गरिएको माछा झलारी, बेलौरी, वाणीसहित स्थानीय बजारमा बिक्री हुने गरेको छ।
स्वदेशी माछा उत्पादनलाई प्रोत्साहन गर्न सरकारले आयातित माछाको व्यवस्थापन तथा स्थानीय उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने उनको धारणा छ। उनले असोजदेखि माघसम्मको अवधि माछा बिक्रीका लागि मुख्य समय हुने बताए।
कृषि व्यवसायबाट आफू मात्र नभई अन्य व्यक्तिले पनि रोजगारी पाएको उल्लेख गर्दै चौधरीले युवाहरूलाई विदेशभन्दा स्वदेशमै अवसर खोज्न आग्रह गरेका छन्। मेहनत र लगनशीलतासाथ कृषि क्षेत्रमा लागे राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ।








Discussion about this post