सार्थक व्युरो । कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ। विभिन्न अपराधमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका उनीहरू गत वर्ष भदौ २४ गते कारागारबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी वीरेन्द्रसिंह थापा का अनुसार पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका–२ बाणी निवासी मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन्।
प्रहरीका अनुसार चौधरी जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भई १८ वर्षको कैद सजाय भोगिरहेका थिए। त्यस्तै खड्का लागुऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका व्यक्ति हुन्।
कारागारबाट फरार भएलगत्तै उनीहरूको खोजी अभियान सञ्चालन गरिएको थियो। लामो समयको निगरानी र अनुसन्धानपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।








Discussion about this post