सार्थक व्युरो । सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियाबाट सात पहाडी जिल्ला जोड्ने प्रमुख राजमार्गहरूको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ। भीमदत्त राजमार्गसँगै दशरथचन्द, जयपृथ्वी र महाकाली राजमार्गका विभिन्न खण्डमा कालोपत्रे उप्किएपछि सडक धुलाम्मे र खाल्डाखुल्डीले भरिएका छन्। यसले यात्रुलाई सास्ती मात्र होइन, दुर्घटनाको जोखिम पनि बढाएको छ।
विशेषगरी बैतडी–डडेलधुरा सडकखण्डको अधिकांश भागमा कालोपत्रे पूर्णरूपमा क्षतिग्रस्त भएको छ। कतिपय स्थानमा सडकको बीचभागमा मात्र कालोपत्रेको धर्सा बाँकी रहेको देखिन्छ भने सवारी गुड्ने भाग पूरै बिग्रिएको छ। अत्तरियादेखि पहाडी जिल्लातर्फ जाने मार्गका विभिन्न स्थानमा ठूला खाल्डा परेका छन्, जसका कारण धुलोको मुस्लो उड्ने र सवारी आवागमन प्रभावित हुने गरेको छ।
कैलालीको सहजपुर क्षेत्रमा सडकको अवस्था झन् चुनौतीपूर्ण छ। गहिरा खाल्डाखुल्डीका कारण साना तथा मध्यम सवारी साधनमा यान्त्रिक समस्या आउने, पार्टपुर्जा बिग्रिने र बीच बाटोमै रोकिने समस्या बढेको चालकहरूको गुनासो छ। चालकहरूका अनुसार उक्त खण्डमा यात्रा गर्दा कहिले गाडी खाल्डामा पर्ने हो भन्ने त्रास सधैँ रहन्छ।
बैतडीको गोठालापानीदेखि डडेलधुराको बागबजारसम्मको करिब ८२ किलोमिटर सडकखण्डमा यात्रा गर्न निकै कठिन भएको चालक हरिश चन्द बताउँछन्। उनका अनुसार धुलो यति धेरै उड्ने गर्छ कि अगाडिको सवारी साधनसमेत स्पष्ट देख्न नसक्दा दुर्घटनाको सम्भावना बढेको छ।
प्रादेशिक ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै यस क्षेत्रका मुख्य सडकहरूमा १२० भन्दा बढी सवारी दुर्घटना भएका छन्। यात्रु नवीन भट्टका अनुसार मोटरसाइकल र सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरू धुलोले ढाकिने अवस्था सामान्य बनेको छ। धुलोका कारण सडकछेउका बासिन्दामा श्वासप्रश्वाससम्बन्धी समस्या समेत बढ्दै गएको उनले बताए।
स्थानीय जनप्रतिनिधिहरूले हरेक वर्ष गरिने टालटुल तथा प्याचवर्क प्रभावकारी हुन नसकेको बताएका छन्। पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश विष्टका अनुसार अनारखोली र भालुमारे क्षेत्रका सडकमा बारम्बार मर्मत गरिए पनि केही दिनमै पुनः बिग्रिने गरेको छ।
डडेलधुराको स्याउले–दिपायल, दिपायल–साँफेबगर र साँफेबगर–मार्तडी सडकखण्डको अवस्था पनि उस्तै रहेको जनाइएको छ। करोडौँ रुपैयाँ खर्च गरेर मर्मत गरिए पनि सडकको दीर्घकालीन सुधार हुन नसकेको स्थानीयको भनाइ छ।
सडक डिभिजन कार्यालयहरूका अनुसार नियमित मर्मत, पहिरो पन्छाउने, नाली सफा गर्ने तथा खाल्डाखुल्डी पुर्ने कार्यमा हरेक वर्ष करोडौँ रुपैयाँ खर्च हुने गरेको छ। सडक डिभिजन कार्यालय पाटन बैतडीले चालु आर्थिक वर्षमा मात्रै मर्मत तथा सरसफाइका लागि १६ करोड रुपैयाँ खर्च गर्ने जनाएको छ।
कार्यालयका इञ्जिनियर कपिल पन्तका अनुसार विभिन्न सडकखण्डमा कालोपत्रे मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम जारी छ। तर, मर्मतपछि प्राप्त हुने गुणस्तरको म्याद करिब तीन महिनासम्म मात्र रहने भएकाले सडक समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको देखिन्छ।








Discussion about this post