सार्थक व्युरो । दार्चुलाको अपिहिमाल गाउँपालिका अब सडक सञ्जालसँग जोडिने चरणमा पुगेको छ। लामो समयदेखि सडक पहुँचबाट वञ्चित रहेको जिल्लाको एक मात्र स्थानीय तहमा सडक विस्तारको काम तीव्र गतिमा अघि बढेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ।
सदरमुकाम खलङ्गाबाट उत्तरपश्चिम दिशामा रहेको अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत गौड्याखोलासम्म सडकको पहुँच पुगेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले जानकारी दिनुभयो। उहाँका अनुसार सडक सञ्जालसँग नजोडिएको जिल्लाको अन्तिम स्थानीय तहलाई यातायात पहुँचमा ल्याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेत उक्त सडक आयोजनालाई प्राथमिकतामा राखेको छ।
वर्षौंदेखि सडक अभावका कारण स्थानीयले दैनिक उपभोग्य सामग्री ढुवानी, आवतजावत तथा विकास निर्माणका काममा ठूलो सास्ती खेप्दै आएका छन्। गाउँपालिका–१ का स्थानीय सोबनसिंह लोथ्यालका अनुसार सडक नहुँदा खाद्यान्नदेखि निर्माण सामग्रीसम्म सबै वस्तु बोकेर लैजानुपर्ने अवस्था छ। मकरीगाडदेखि खण्डेश्वरी घुसासम्म सामान ढुवानी गर्दा प्रतिकिलो १० रुपैयाँसम्म खर्च लाग्ने गरेको उहाँले बताउनुभयो।
स्थानीय खडक रोकायाले सडक सञ्चालनमा आएपछि ढुवानी खर्च घट्ने र जनजीवन सहज बन्ने अपेक्षा व्यक्त गर्नुभयो। हालसम्म मकरीगाडसम्म मात्र पुगेको सडकको ट्र्याक अहिले वडा नम्बर ३ को भट्टारगाउँसम्म विस्तार भइसकेको छ।
स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म सडक पुग्ने विश्वास व्यक्त गर्दै सडक सञ्चालनपछि यातायात, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
गाउँपालिका अध्यक्ष बोहोराका अनुसार भट्टार क्षेत्रभन्दा अगाडि पनि सडक निर्माणको काम जारी छ र निकट भविष्यमै गाउँपालिका केन्द्र खण्डेश्वरीसम्म सवारी साधन सञ्चालन हुने अपेक्षा गरिएको छ। यद्यपि वडा नम्बर १ र २ भने तत्काल सडक पहुँचमा जोडिने सम्भावना नरहेको उहाँले बताउनुभयो। काफलधारसम्म सडक विस्तार भए ती वडाका बासिन्दाले समेत प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।
सडक निर्माणको जिम्मा बिएनबी कन्स्ट्रक्सन, सुर्खेतले लिएको छ। निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीका अनुसार चालु आर्थिक वर्षभित्र सम्पूर्ण काम सम्पन्न नहुने भए पनि आगामी आर्थिक वर्षभित्र गाउँपालिका केन्द्रसम्म सडक पुर्याउने लक्ष्यसहित निर्माण कार्य भइरहेको छ।
गाउँपालिकाकी उपाध्यक्ष देवकीदेवी बोहोराले सडक अभावका कारण विकास निर्माण सामग्री ढुवानी महँगो पर्ने र विभिन्न योजना कार्यान्वयनमा समस्या हुने गरेको उल्लेख गर्दै सडक विस्तारसँगै विकासका गतिविधि प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिका अध्यक्ष बोहोराका अनुसार चालु आर्थिक वर्षभित्र सडक काफलधारसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। मकरीगाडदेखि भट्टारसम्मको कठिन तथा चट्टानी भूभागमा सडक निर्माणको चुनौतीपूर्ण काम जारी रहेको जनाइएको छ।


















Discussion about this post