सार्थक ब्यूरो । सरकारले उपलब्ध गराउँदै आएको खाद्यान्न सेवा रोकिएको भन्दै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका छन्। खाना नपाएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ।
होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीका अनुसार सोमबार साँझदेखि भोजनको व्यवस्था हुन नसकेको हो। त्यसयता खाना नपाउँदा रातभर भोकै बस्नुपरेको र समस्या समाधान नभएपछि मंगलबार बिहानदेखि विरोध सुरु गरिएको उनीहरूले बताएका छन्।
होल्डिङ सेन्टरमा आश्रय लिएका एक सुकुमवासीले भने, “सोमबार साँझदेखि खाना पाएका छैनौं। रातभर भोकै बितायौं। सम्बन्धित निकायबाट कुनै पहल नभएपछि विरोध गर्न बाध्य भएका हौं।”
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले पनि सोमबार बिहानसम्म मात्रै खानाको व्यवस्था भएको जानकारी दिए। उनका अनुसार उनी बिहान खाना खाएर बाहिर निस्किएका थिए, तर साँझदेखि होल्डिङ सेन्टरमा रहेका परिवारले खाना नपाएको खबर पाएपछि उनी समस्या समाधानका लागि पहल गरिरहेका छन्।
यसअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर त्यहाँ बसिरहेका सुकुमवासीहरूले सरकारले नै बस्न दिएको अवधिभित्र पनि आधारभूत आवश्यकताको व्यवस्था गर्न नसकेको गुनासो गरेका छन्।
होल्डिङ सेन्टरमा रहेका अर्का एक सुकुमवासीका अनुसार खाना अभावको सबैभन्दा बढी असर ज्येष्ठ नागरिक, बिरामी र बालबालिकामा परेको छ। नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू समेत खाना नपाउँदा औषधि खान नसकेको उनले बताए।
सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि प्रभावित परिवारहरूलाई विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो। खरिपाटीस्थित केन्द्रमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।
सुकुमवासीहरूको विरोध प्रदर्शन सुरु भएपछि सम्भावित अप्रिय अवस्था रोक्न होल्डिङ सेन्टर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ।


















Discussion about this post