पानीको बहाव बढेसँगै कैलालीका नदीमा फेरि देखिन थाले डल्फिन

सार्थक ब्यूरो । कैलालीका नदीमा मनसुन सुरु भएसँगै दुर्लभ जलचर डल्फिनको उपस्थिति बढ्न थालेको छ। नदीमा पानीको सतह उक्लिएसँगै कर्णालीका सहायक नदीअन्तर्गत पर्ने टीकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्।
संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार नदीमा पर्याप्त पानी पुगेपछि डल्फिन बच्चा हुर्काउने उद्देश्यले यी नदीमा आउने गर्छन्। यसअघि काँढा नदीमा जलस्तर कम भएका कारण डल्फिन देखिएका थिएनन्। अहिले भने टीकापुर–७ र भजनी नगरपालिका–८ अन्तर्गत पर्ने मोहना र पथरैया नदीको दोभान क्षेत्रमा नियमित रूपमा डल्फिन देखिन थालेको उनले बताए।
हरेक वर्ष मनसुनको समयमा कर्णालीका सहायक नदीहरू मोहना, पथरैया, काँढा र कान्द्रालगायत क्षेत्रमा डल्फिन आउने गर्छन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा विचरण गर्ने यी जलचर मनसुन अवधिभर सहायक नदीमा बसोबास गर्ने र करिब तीन महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मीहरूको भनाइ छ।
डल्फिनले मुख्य रूपमा माछा, घोँगी र लेउलाई आहाराका रूपमा प्रयोग गर्छ। नेपालमा पाइने ‘प्लाटानिस्टा ग्याङ्गेटिका’ प्रजातिको डल्फिन विश्वमै दुर्लभ मानिन्छ। यो प्रजाति नेपालसँगै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने गरेको छ।
डल्फिन संरक्षणका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भू–परिधि कार्यक्रम, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुर, टीकापुर नगरपालिका, भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले विभिन्न संरक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
कर्णाली नदीमा पहिलो पटक विसं २०५४ मा डल्फिनको आधिकारिक अभिलेख गरिएको थियो। स्थानीय भोजराज श्रेष्ठ, जो ‘गुलेली बाजे’का नामले परिचित छन्, ले पहिलो पटक डल्फिन देखेपछि यसको संरक्षण र प्रचारप्रसार अभियानले गति लिएको थियो।
मनसुनको समयमा डल्फिन अवलोकनका लागि भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिका लगायतका देशबाट पर्यटक कैलाली पुग्ने गरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार डल्फिन संरक्षित वन्यजन्तुको सूचीमा समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित