स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

सार्थक ब्यूरो । कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त भएका छन्। विश्वविद्यालय सभाले प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।
सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमक्ष योग्यताक्रमसहितको सिलबन्दी प्रतिवेदन पेश गरेका थिए। त्यसपछि सभामा योग्यताक्रमको पहिलो स्थानमा रहेका जोशी र चन्दलाई क्रमशः उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको जानकारी गराइएको थियो।
मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको मूल्याङ्कनका आधारमा निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिएको बताए। उनले नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन हुने विश्वास व्यक्त गरे।
नवनियुक्त उपकुलपति प्रा. डा. जोशी चिकित्सा शिक्षाका अनुभवी शिक्षाविद् हुन्। उनले विनायक मिसन विश्वविद्यालयबाट ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विद्यावारिधि गरेका छन्। उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्यापनसँगै यस विश्वविद्यालयका संस्थापक उपकुलपतिका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका छन्।
यस्तै, रजिष्ट्रारमा नियुक्त डा. भीमबहादुर चन्द स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासन क्षेत्रमा करिब २५ वर्षको अनुभव भएका विज्ञ हुन्। अस्पताल व्यवस्थापनमा विद्यावारिधि गरेका चन्द यसअघि विश्वविद्यालयको कार्यकारी परिषद् तथा नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद्मा समेत सदस्यका रूपमा कार्यरत थिए।
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनअनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम पेश गर्ने र पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित