सार्थक ब्यूरो । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० फगिरे चौराहाकी ४२ वर्षीया पारु सुनार आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। बिहीबार बिहान उनको शव घरभित्रै भेटिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बुधबार राति पारु र उनका श्रीमान् ४५ वर्षीय रनबहादुर सुनारले घरमै मदिरा सेवन गरेका थिए। त्यसक्रममा सामान्य विवाद चर्किँदै जाँदा दुवैबीच झगडा भएको र श्रीमती पारुमाथि लाठी प्रहार भएको इलाका प्रहरी कार्यालय दोधाराले जानकारी दिएको छ।
घटनामा पारु घाइते भएपछि तथा रनबहादुर पनि बेहोस बनेपछि उपचारका लागि दुवैलाई दोधारा चाँदनी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाउन सिफारिस गरिए पनि परिवारका सदस्यले उनीहरूलाई राति नै घर फर्काएका थिए।
प्रहरीका अनुसार थप उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्थामा घरमै राखिएकी पारु बिहीबार बिहान करिब ८:५० बजे मृत अवस्थामा फेला परेकी हुन्।
प्रहरीको प्रारम्भिक अनुमानमा मदिरा सेवनपछि सामान्य विषयमा सुरु भएको विवादले हिंसात्मक रूप लिएको हुन सक्ने देखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो।
मृतकको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक जगतसाह मगरको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले मृतकका श्रीमान् रनबहादुर सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।


















Discussion about this post