सार्थक ब्यूरो । कैलालीका विभिन्न स्थानीय तहका बासिन्दाले जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पाँचवर्षे कार्यकाल अन्तिम चरणमा पुगिसक्दा पनि विकास र सेवा प्रवाहमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उनीहरूको भनाइ छ।
स्थानीयवासीका अनुसार जनप्रतिनिधिहरू विकास निर्माणभन्दा राजनीतिक गतिविधिमै बढी केन्द्रित भएका कारण जनताले प्रत्यक्ष अनुभूति गर्ने खालका काम हुन सकेका छैनन्। निर्वाचनअघि गरिएका प्रतिबद्धतासमेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनीहरूको आरोप छ।
भजनी नगरपालिका–४ का स्थानीय बाँधुराम हर्दिउलाले जनताले ठूलो विश्वासका साथ निर्वाचित गरेर पठाएका प्रतिनिधिले त्यसअनुसार परिणाम दिन नसकेको बताउनुभयो। उहाँका अनुसार साढे चार वर्षको अवधिमा पालिकामा जनताले प्रत्यक्ष महसुस गर्ने गरी उल्लेखनीय विकास हुन सकेको छैन।
शिक्षकसमेत रहेका हर्दिउलाले छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण सकारात्मक काम भए पनि भौतिक पूर्वाधार र शिक्षा क्षेत्रमा अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गर्नुभयो। उहाँले विगतका जनप्रतिनिधिको तुलनामा पनि वर्तमान नेतृत्वको कार्यसम्पादन सन्तोषजनक नरहेको स्थानीय स्तरमा चर्चा हुने गरेको बताउनुभयो।
जोशीपुर गाउँपालिकाका राकेश चौधरीले २०७९ सालमा निर्वाचित जनप्रतिनिधिसँग आवश्यक कानुनी आधार र संरचना उपलब्ध रहेकाले काम गर्ने पर्याप्त अवसर रहेको धारणा राख्नुभयो। तर, आवश्यक कानुन र पूर्वाधार हुँदाहुँदै पनि अधिकांश पालिकाले जनताको विश्वास जित्ने गरी काम गर्न नसकेको उहाँको भनाइ छ।
यद्यपि कैलालीका १३ स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिका र बर्दगोरिया गाउँपालिकाले केही क्षेत्रमा उल्लेखनीय काम गरेको स्थानीयको मूल्यांकन छ। फूलबारीका यम लामिछानेका अनुसार धनगढी उपमहानगरपालिकाले सरसफाइ, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रगति गरेको छ। यद्यपि भौतिक पूर्वाधार विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको र त्यसमा सीमित आर्थिक स्रोत पनि एउटा कारण हुन सक्ने उहाँले बताउनुभयो।


















Discussion about this post