सार्थक ब्यूरो । सरकारले १ रुपैयाँ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक विषयसँग सम्बन्धित सातवटा निर्णय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले दिएका छन्।
बैठकले मिटरब्याजबाट पीडित नागरिकका माग सम्बोधन गर्दै वार्ता प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। उक्त टोलीमा अर्थ, गृह, भूमि व्यवस्था तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनेछन्।
त्यस्तै, नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का टकमरीका लागि नेपाल राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरिएको छ।
मन्त्रिपरिषद्ले नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापना गर्न कोरिया सरकारबाट प्राप्त हुने १.८१ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
संरक्षित क्षेत्रभित्र पर्ने राष्ट्रिय वन क्षेत्रमा आवश्यक परे थप रुख तथा पोल हटाउनुपर्ने अवस्थामा प्रचलित कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयले नै स्वीकृति दिन सक्ने व्यवस्था पनि बैठकले गरेको छ।
यसैगरी विभिन्न मन्त्रालयहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन अध्यादेश, २०८३ स्वीकृत गर्ने तथा सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।








Discussion about this post