चिट्ठा प्रणालीबाट छनोट, पहिलो चरणमा ८३६ नेपाली कामदार इजरायल जाने

सार्थक ब्यूरो । इजरायलमा सुसारे (केयरगिभर) का रूपमा रोजगारीका लागि पहिलो चरणमा ८ सय ३६ जना नेपाली कामदार छनोट भएका छन्। इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले चिट्ठा प्रणालीमार्फत उनीहरूको छनोट गरेको हो।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास, वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा श्रव्यदृश्य माध्यमबाट गरिएको छनोट प्रक्रियामा कुल एक हजार ११५ जना सहभागी भएका थिए। तीमध्ये ७८४ पुरुष र ३३१ महिला सहभागी रहेकामा पहिलो लटका लागि ८३६ जना छनोटमा परेका हुन्।
नेपालस्थित इजरायली दूतावासले जारी गरेको विज्ञप्तिअनुसार छनोट भएका कामदारहरू निकट भविष्यमा इजरायल प्रस्थान गर्नेछन्।
कार्यक्रममा बोल्दै राजदूत एरीबासले इजरायलको सेवाशुश्रूषा क्षेत्रमा चाँडै थप दुई हजार १०० भन्दा बढी रोजगारीका अवसर खुल्ने जानकारी दिए। उनले ‘घरमा आधारित स्याहार सेवा’ र ‘कृषि श्रमिक’ सम्बन्धी नेपाल–इजरायलबीच भएका द्विपक्षीय श्रम सम्झौताहरू कार्यान्वयनको चरणमा पुगेको पनि बताए।
द्विपक्षीय श्रम सम्झौताअनुसार इजरायल जाने नेपाली कामदारले त्यहाँका स्थानीय श्रमिकसरह न्यूनतम पारिश्रमिक, श्रम अधिकार तथा अन्य सेवासुविधा प्राप्त गर्ने व्यवस्था रहेको दूतावासले जनाएको छ।
दुवै देशले यस छनोट प्रक्रियालाई नेपाल–इजरायल श्रम सहकार्यलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिँदै भर्ती प्रक्रियामा पारदर्शिता, निष्पक्षता र समान अवसर सुनिश्चित गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित