सार्थक ब्यूरो । बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै नागरिकका गुनासा र सुझावका आधारमा ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरेको छ।
गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा असार ३१ गते सम्पन्न सार्वजनिक सुनुवाइमा नागरिक, जनप्रतिनिधि र कर्मचारीबीच लामो प्रश्नोत्तर तथा छलफलपछि सार्वजनिक सेवामा सुधार गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको हो।
सार्वजनिक सुनुवाइमा सहभागीहरूले पालिकाले आयोजना गर्ने सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधि अनुपस्थित रहने गरेको भन्दै असन्तुष्टि जनाएका थिए। उनीहरूले गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा सुरक्षित खानेपानीको अभाव, विद्यार्थी सङ्ख्याअनुसार पर्याप्त फर्निचर नहुँदा पठनपाठन प्रभावित भएको तथा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट र सामग्रीको कमी रहेको गुनासो गरेका थिए।
यस्तै वडा नं. २ स्थित बावाधाममा शौचालयको अभाव, पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिम प्रभावकारी हुन नसक्नु, तालिमपछि सहभागीलाई रोजगारी वा स्वरोजगारसँग जोड्न नसकिएको, सार्वजनिक सडक अतिक्रमणका कारण आवतजावतमा समस्या भएको तथा विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको विषय पनि उठाइएको थियो।
सहभागीहरूले जलवायु परिवर्तन, प्लास्टिकजन्य फोहोर र वातावरणीय प्रदूषण बढ्दै गएको तथा फोहोरमैला व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै नियमित संकलन र व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए। केही विद्यालयले कानुनविपरीत विभिन्न शीर्षकमा शुल्क असुल्ने गरेको गुनासो गर्दै त्यस्ता विद्यालयमाथि कारबाही गर्न माग गरिएको थियो।
त्यसैगरी जनता माध्यमिक विद्यालय नजिक अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम रहेको, पालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर भएको तथा युवामा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै नियन्त्रण र सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए।
उठेका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मञ्जु मल्ल, सम्बन्धित वडा अध्यक्ष तथा शाखा प्रमुखहरूले दिएका थिए।
सुनुवाइको निष्कर्षस्वरूप गाउँपालिकाले ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता सार्वजनिक गर्दै सार्वजनिक सुनुवाइलगायतका कार्यक्रममा जनप्रतिनिधिको अनिवार्य सहभागिता सुनिश्चित गर्न कार्यपालिकाबाट आवश्यक निर्देशन दिने जनाएको छ। विद्यालयमा देखिएका खानेपानी तथा फर्निचर अभाव समाधान गर्ने, अतिरिक्त क्रियाकलापका लागि सहयोग उपलब्ध गराउने, वडा नं. २ को बावाधाममा शौचालय निर्माणमा सहयोग गर्ने तथा सीपमूलक तालिमलाई प्रभावकारी बनाउँदै सहभागीलाई स्वरोजगारसँग जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यस्तै सार्वजनिक सडक अतिक्रमण हटाउने, शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने, जलवायु परिवर्तन न्यूनीकरण तथा प्लास्टिकको प्रयोग निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्ने, फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा शिक्षा सम्बन्धी ऐन–कानुनविपरीत शुल्क असुल्ने विद्यालयमाथि आवश्यक कारबाही गर्ने निर्णय गरिएको छ।
गाउँपालिकाले जनता माध्यमिक विद्यालय नजिक रहेको अव्यवस्थित विद्युत् पोल तथा तार साउन ५ गतेभित्र व्यवस्थापन गर्ने, ट्राफिक व्यवस्थापन सुदृढ गर्ने तथा लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।
कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेका थिए। बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए भने जनसम्पर्क अधिकृत माधव काकीले नागरिक प्रतिवेदन पत्र तथा बहिर्गमन अभिमतको नतिजा सार्वजनिक गरेका थिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले आर्थिक वर्षभरि सम्पन्न योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।


















Discussion about this post