सार्थक ब्यूरो । भारत–नेपाल सीमा नाका गौरीफन्टामा भारतीय भन्सार कार्यालयले अवैध रूपमा नेपालतर्फ ल्याउन खोजिएका करिब ५७ लाख भारतीय रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ। बरामद सामग्रीमा ठूलो परिमाणमा काली मिर्च, तयारी पोसाक तथा अन्य उपभोग्य वस्तु रहेका छन्।
भारतीय भन्सारका अनुसार दिल्लीबाट धनगढी हुँदै काठमाडौंतर्फ गइरहेको आरजे ११ जिसी २१०५ नम्बरको ट्रकलाई बिहीबार नियमित जाँचका क्रममा रोकेर निरीक्षण गरिएको थियो। जाँचका क्रममा ट्रकमा लोड गरिएको चनाको दालभित्र लुकाएर राखिएको १९ क्विन्टल काली मिर्च फेला परेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार ट्रकमा करिब १८ हजार किलोग्राम चनाको दाल रहेको थियो। सोही दालको बीचमा काली मिर्च लुकाई भन्सार छलेर नेपाल भित्र्याउने प्रयास गरिएको आशंका गरिएको भारतीय भन्सारले जनाएको छ।
ट्रकबाट बिलबिजकविहीन अन्य सामग्री पनि बरामद गरिएको छ। जसमा एक हजार ६२० थान जिन्स सर्ट, ३८७ थान पुरुषका प्यान्ट, २१६ थान ओरियन ब्रान्डका बेबी मिक्सर तथा ९८० थान ओरियन ब्रान्डका बेबी बिब (Bib) फेला परेका छन्।
भारतीय भन्सारका अधिकारीका अनुसार बरामद गरिएका सम्पूर्ण सामानको अनुमानित मूल्य करिब ५७ लाख भारतीय रुपैयाँ बराबर रहेको छ। ट्रकलाई नियन्त्रणमा लिएर सामानको वास्तविक स्रोत, नेपालभित्रको गन्तव्य तथा तस्करीमा संलग्न व्यक्ति वा समूहको पहिचानका लागि विस्तृत अनुसन्धान अघि बढाइएको जनाइएको छ।
भारतीय सुरक्षा तथा भन्सार निकायले पछिल्ला महिनाहरूमा नेपालतर्फ हुने अवैध सामान ओसारपसार रोक्न सीमा क्षेत्रमा निगरानी थप कडा बनाएपछि यस्ता प्रकृतिका तस्करीका प्रयासहरू लगातार सार्वजनिक हुँदै आएका छन्।


















Discussion about this post