सार्थक ब्यूरो । भीमदत्त नगरपालिका–८ स्थित तिलाचौर भम्केनीधाममा निर्माणाधीन नेपाल आमाको मूर्ति पर्याप्त बजेटको अभावका कारण लामो समयदेखि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। निर्माण समितिका अनुसार विगत करिब एक वर्षदेखि आर्थिक स्रोतको अभावले काम प्रभावित बनेको हो।
नेपाल आमाको मूर्ति निर्माण समितिका संयोजक जनकराज जोशीका अनुसार २०७५ सालमा भ्याली कन्स्ट्रक्सन प्रालिसँग करिब ११ करोड रुपैयाँ लागतमा ७५ फिट अग्लो मूर्ति साढे तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। तर आवश्यक बजेट समयमै उपलब्ध हुन नसक्दा निर्धारित अवधिमा काम पूरा गर्न नसकिएको उहाँले बताउनुभयो।
मूर्ति निर्माणका लागि महाकाली शारदापीठका जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीदेखि महाकालीसम्म पदयात्रा गर्दै सुन, चाँदी, तामा, पित्तललगायतका धातु संकलन गर्नुभएको थियो। उक्त अभियानबाट संकलित करिब एक करोड ८५ लाख रुपैयाँले निर्माण कार्य सुरु गरिएको थियो। यसबाहेक भीमदत्त नगरपालिकाले ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो भने विभिन्न दाताबाट पनि करिब ५० लाख रुपैयाँ सहयोग जुटाइएको समितिले जनाएको छ।
परियोजनाको अनुमानित लागत १० करोड ८१ लाख रुपैयाँ रहे पनि हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको मात्रै निर्माण सम्पन्न भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मूर्ति निर्माणका लागि छ करोड ८० लाख रुपैयाँ विनियोजन गरेकाले उक्त रकम निकासा भएपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको संयोजक जोशीले बताउनुभयो।
निर्माणमा करिब २५ टन अष्टधातु प्रयोग गरिने योजना रहेको छ। मुख्य मूर्तिकार मनोहर महर्जनका अनुसार अहिलेसम्म करिब पाँच टन धातु प्रयोग भइसकेको छ। हाल २८ क्विन्टल तामा तथा केही काँस र पित्तल गलाएर थप निर्माणको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
महर्जनका अनुसार ७५ फिट उचाइको मूर्तिमध्ये हालसम्म ५८ फिटसम्मको साँचो निर्माण भइसकेको छ भने ढलानको काम अझै बाँकी रहेको छ।
निर्माण समितिले मेची–महाकालीलाई भावनात्मक रूपमा जोड्ने अभियानका रूपमा यस परियोजनालाई लिएको जनाएको छ। मूर्ति निर्माण सम्पन्न भएपछि देशभरबाट धार्मिक पर्यटक आकर्षित हुने र भम्केनीधामसहित यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास समितिको छ।
सिद्धनाथ वैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समितिका महासचिव करन भट्टका अनुसार मूर्ति निर्माण सुरु भएयता भम्केनीधाममा आउने धार्मिक पर्यटकको संख्या बढ्दो क्रममा छ। हाल दैनिक एक सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक यस स्थलको अवलोकनका लागि पुग्ने गरेका छन्।


















Discussion about this post