दार्चुलामा काठको पुल भत्किँदा खोलामा बगेर एक जनाको ज्यान गयो

सार्थक ब्यूरो । दार्चुलामा काठको पुल भत्किएपछि खोलामा खसेका एक पुरुषको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–८ र वडा नं. ३ को सिमानामा रहेको गाडखोलामाथिको काठे पुल भाँचिँदा स्थानीय ५६ वर्षीय धनसिंह धामीको ज्यान गएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका उपाध्यक्ष कल्याणसिंह धामीका अनुसार सोमबार साँझ मेलखेत बजारबाट घर फर्किने क्रममा आरबाटा क्षेत्रमा रहेको उक्त पुल पार गर्दै गर्दा पुल भत्किएर धनसिंह खोलामा खसेको प्रारम्भिक अनुमान गरिएको छ।
सोमबार रातिसम्म घर नपुगेपछि परिवार तथा स्थानीयवासीले उनको खोजी थालेका थिए। मंगलबार बिहान पुल रहेको स्थानबाट करिब ३०० मिटर तल गाडखोलामा उनको शव फेला परेको हो। स्थानीय बासिन्दाले शव खोलाबाट बाहिर निकालेका छन्।
गत वर्ष मात्रै निर्माण गरिएको उक्त काठे पुल खोला पार गर्ने क्रममा भाँचिएको बताइएको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक देवेन्द्रसिंह बुढाथोकीले जानकारी दिएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित