सार्थक डेस्क। साउन १७ केवल एउटा स्मृति दिवस होइन, नेपाली किसान आन्दोलन, सामाजिक न्याय र समानताको इतिहासलाई पुनः सम्झने दिन हो। शहीद भीमदत्त पन्तको ७३औँ स्मृति दिवस मनाइरहँदा एउटा गम्भीर प्रश्न उठ्छ—के हामीले उनको बलिदानलाई केवल फूल चढाउने औपचारिकतामा सीमित गरेका छौँ, वा उनले देखाएको परिवर्तनको बाटोमा साँच्चै अघि बढिरहेका छौँ ?
भीमदत्त पन्त कुनै एउटा राजनीतिक दलका नेता थिएनन्; उनी अन्याय, शोषण, जातीय विभेद र सामन्ती संरचनाविरुद्ध उठेको जनस्वर थिए। डडेल्धुराको कारीगाउँमा जन्मिएका पन्तले संस्कृत अध्ययनसँगै गीता र मार्क्सवाद दुवैको अध्ययन गरे। यही वैचारिक समन्वयले उनलाई केवल विद्वान होइन, सामाजिक रूपान्तरणका लागि संघर्षरत क्रान्तिकारी बनायो।
उनको संघर्षको केन्द्रमा सत्ता प्राप्ति थिएन; किसान, श्रमिक, दलित, हलिया, कमैया र समाजका उत्पीडित वर्गको सम्मानपूर्ण जीवन थियो। “जसको जोत उसको पोत”, “तमसुक च्यात, भकारी फोड” र “कि त जोत हलो, कि त छोड थलो” जस्ता नाराहरू केवल आन्दोलनका नारा थिएनन्, ती नेपालमा आर्थिक र सामाजिक न्यायको घोषणापत्र थिए।
त्यतिबेलाको समाजमा दलितको हातको पानी खानुलाई अपराध ठानिन्थ्यो। तर भीमदत्तले व्यवहारमै त्यस विभेदलाई चुनौती दिए। सबै जातजातिलाई एउटै थालमा बसाएर भोजन गराउनु केवल सामाजिक सुधार थिएन, त्यो नेपालमा समानताको साहसी उद्घोष थियो। आज संविधानले समानताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा जातीय विभेद, छुवाछूत र सामाजिक बहिष्कारका घटना अझै अन्त्य भएका छैनन्। यस अर्थमा भीमदत्तका विचार आज पनि उत्तिकै सान्दर्भिक छन्।
उनले किसानको पक्षमा उभिएर तमसुक जलाए, बेदखली रोके, श्रमशोषणविरुद्ध अभियान चलाए र उत्पादन, श्रम तथा आत्मनिर्भरताको संस्कृति निर्माण गर्न आग्रह गरे। उनले उत्पादन बढाउन, अन्नको सम्मान गर्न र अनावश्यक खर्च घटाउन दिएको सन्देश आजको आर्थिक संकट, बेरोजगारी र कृषि आयातमा निर्भर नेपालको सन्दर्भमा अझ अर्थपूर्ण देखिन्छ।
तर इतिहासले देखायो—सत्य बोल्ने र अन्यायविरुद्ध उभिनेहरू सधैँ सत्ताको निशानामा पर्छन्। २०१० साल साउन १७ गते उनलाई गोली हानी हत्या गरियो, टाउको काटेर सार्वजनिक प्रदर्शन गरियो र परिवारलाई समेत सामाजिक बहिष्कार गरियो। शारीरिक रूपमा एउटा मानिसलाई समाप्त गरिए पनि उनको विचार समाप्त गर्न सकिएन। बरु त्यही बलिदानले किसान आन्दोलनलाई दीर्घकालीन प्रेरणा दियो।
विडम्बना के छ भने, उनको नाम सबैले लिए, तर उनको विचारलाई कमैले आत्मसात् गरे। विभिन्न राजनीतिक दलले उनको नाममा राजनीति गरे, तर भूमिसुधार, भूमिहीनको व्यवस्थापन, किसानको उत्पादनको उचित मूल्य, श्रमिकको सम्मान र सामाजिक समानताको एजेन्डा अझै अधुरै छन्। सरकारले २०७२ सालमा उनलाई औपचारिक रूपमा शहीद घोषणा गर्यो, तर उनको जन्मस्थलको विकास, स्मारक निर्माण र उनको योगदानलाई संस्थागत गर्ने काम अझै अपूरो छ। निर्माणाधीन प्रवेशद्वार वर्षौँदेखि अलपत्र छ, ‘भीमदत्त आदर्श बस्ती’ घोषणामै सीमित छ।
आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ, संविधानले मौलिक अधिकारको प्रत्याभूति गरेको छ, तर हजारौँ किसान अझै भूमिहीन छन्। युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन्। कृषि उत्पादन घट्दो छ, आयात बढ्दो छ, सामाजिक असमानता कायम छ। यिनै समस्याविरुद्ध भीमदत्तले सात दशकअघि आवाज उठाएका थिए।
शहीदलाई सम्मान गर्नु भनेको उनको सालिकमा माला चढाउनु मात्र होइन। उनले उठाएका मुद्दालाई नीति, कार्यक्रम र व्यवहारमा लागू गर्नु नै वास्तविक श्रद्धाञ्जली हो। किसानलाई उत्पादनको सम्मानजनक मूल्य, भूमिहीनलाई भूमि, श्रमिकलाई अधिकार, दलितलाई सम्मान, शिक्षामा समान पहुँच र राज्यको सेवामा न्यायपूर्ण अवसर सुनिश्चित गर्न सके मात्र भीमदत्त पन्तप्रतिको सम्मान सार्थक हुनेछ।
७३ वर्षअघि एउटा किसान नेताले देखेको न्यायपूर्ण नेपालको सपना आज पनि अधुरै छ। त्यो सपना पूरा गर्ने जिम्मेवारी अब इतिहासको होइन, वर्तमान पुस्ताको काँधमा छ। भीमदत्त पन्तलाई सम्झनु भनेको अतीतमा फर्किनु होइन; समानता, न्याय र आत्मनिर्भर नेपालको भविष्य निर्माण गर्ने संकल्प गर्नु हो। यही संकल्प नै शहीदप्रतिको सबैभन्दा ठूलो श्रद्धाञ्जली हुनेछ।
















Discussion about this post