कञ्चनपुरमा सशस्त्र प्रहरीको स्थापना दिवस मनाइयो, एक वर्षमा ११ करोडभन्दा बढीका अवैध सामग्री नियन्त्रण

सार्थक ब्यूरो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी, कञ्चनपुरले आफ्नो २३औँ स्थापना दिवस सोमबार विविध कार्यक्रमका साथ मनाएको छ। शुक्लाफाँटा नगरपालिका–५ स्थित गण मुख्यालयमा आयोजित समारोहमा उत्कृष्ट कार्यसम्पादन गरेका सशस्त्र प्रहरी कर्मचारी तथा खेलाडीलाई सम्मान गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो।
कार्यक्रमका अवसरमा गणले आर्थिक वर्ष २०८२/८३ मा सीमा सुरक्षा, विपद् व्यवस्थापन, तस्करी नियन्त्रण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको प्रगति विवरणअनुसार गत आर्थिक वर्षमा ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिई सम्बन्धित निकायलाई बुझाइएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा मात्रै ५० लाख २६ हजार १ रुपैयाँ बराबरका अवैध वस्तु बरामद गरी भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ।
लागूऔषध नियन्त्रणतर्फ ३१ वटा मुद्दामा ५० जनालाई पक्राउ गरिएको छ भने एक नाल भरुवा बन्दुक समेत बरामद गरिएको जानकारी कार्यक्रममा दिइयो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रभावकारी कारबाही गरिएको गणको दाबी छ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले जिल्लामा सीमा सुरक्षा, शान्ति सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, विपद् प्रतिकार्य तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए।
उनका अनुसार वर्षभरिमा भएका ३४ वटा विपद्का घटनामा सशस्त्र प्रहरी परिचालन गरी ४१ जनाको जीवित उद्धार गरिएको छ भने १० वटा शव खोजी तथा व्यवस्थापन गरिएको छ। विपद् प्रतिकार्य क्षमतामा सुधार ल्याउन १८ पटक नमुना अभ्यास सञ्चालन गरिएको र १७२ वटा जनचेतनामूलक कार्यक्रममार्फत एक हजार २ सय ५५ जनालाई सहभागी गराइएको जानकारी उनले दिए।
सीमा सुरक्षातर्फ १२ पटक पैदल गस्ती सञ्चालन गरिएको, भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग ६ वटा समन्वय बैठक सम्पन्न भएको तथा ५०० पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको गणले जनाएको छ। यस अवधिमा १३ वटा सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरिएको छ भने संयुक्त फिल्ड सर्वे टोलीमार्फत ५२ वटा सीमा स्तम्भ मर्मत, तीन वटा नयाँ सीमा स्तम्भ निर्माण र चार वटा स्तम्भ पुनर्निर्माण गरिएको विवरणमा उल्लेख छ।
समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत शुक्लाफाँटा र बेलौरी नगरपालिकाका ३८ जनालाई दुई चरणमा स्वयंसेवक तालिम प्रदान गरिएको छ। साथै विपद् सूचना प्रणालीलाई प्रभावकारी बनाउन दुई हजार ५ सय ९२ जना विपद् सूचक तथा निर्वाचन प्रहरीको अभिलेखीकरण गरी नियमित सम्पर्कमा राखिएको गणले जनाएको छ।
स्थानीय तहसँगको सहकार्यमा उपलब्ध चार वटा रबर राफ्ट प्रयोग गरी महाकाली नदीमा आएको बाढीका क्रममा दुई जनाको सकुशल उद्धार गरिएको गणपति सिग्देलले जानकारी दिए। यसबाहेक सीमावर्ती क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, भारतको एसएसबीसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता, युवामुखी सीपमूलक तालिम तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले सीमा सुरक्षासँगै मानवीय सेवामा सशस्त्र प्रहरीको भूमिका थप प्रभावकारी बन्दै गएको बताए। उनले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी तथा विपद् व्यवस्थापनमा स्थानीय तह, प्रशासन र नागरिकसँगको समन्वय अझ सुदृढ बनाउन निर्देशन दिँदै उपलब्धिलाई कायम राख्दै थप व्यावसायिक, अनुशासित र परिणाममुखी ढङ्गले काम गर्न मातहतका सुरक्षाकर्मीलाई आग्रह गरे।
स्थापना दिवसकै अवसरमा सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) योग्यबहादुर बस्नेत उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित भएका छन्। उनलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो। सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै विपद् व्यवस्थापन, लागूऔषध नियन्त्रण, अवैध चोरीपैठारी नियन्त्रण, सीमा अपराध न्यूनीकरण, राजस्व संरक्षण तथा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको योगदानको मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
समारोहमा विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सरकारी कर्मचारी, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित